जेठ २२, रौतहट । कोरोना भाइरस (कोभिड १९ )को संक्रमण फैलिन नदिन सर्तकता अपनाएर व्यापार/व्यवसाय खोल्न दिने रौतहट प्रशासनले निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीवार सूचना जारी गर्दै जेठ २३ गते शुक्रवारबाट ३२ गतेसम्म तोकिएको समयमा व्यापार/व्यवसाय खोल्न दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बिहीवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बैंक तथा वित्तीय संस्था र व्यापार/व्यवसाय खोल्न नदिने निर्णय गरेको हो ।
बैंक तथा बितिय संस्था प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र औषधी पसल २४ सै घण्टा खुला गर्न भनेको छ । खाद्यन्न/किराना पसल र गैर खाद्यन्न पसलहरु एक/एक दिन बिराएर आलोपालो गरी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय भएको छ । रौतहट उद्योग वाणिज्य संघले व्यवसायीको संग्लनतामा एउटा ‘मापदण्ड कार्यान्वयन तथा अनुगमन टोली’ बनाई मापदण्ड कार्यान्वयनमा पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ ।
जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा मापदण्डको पालना नभएको पाइएमा त्यस्ता सेवा तथा व्यवसाय बन्द गराई, संक्रमक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जानकारी दिएको छ ।