ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी निर्णयको एक महीनापछि चल्न थाले बारा–पर्सा कोरिडोरका उद्योगहरु

२०७७ जेठ, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

जेठ २५, वीरगञ्ज  । सरकारले लकडाउनलाई केही खुकुलो पार्दै ४४ प्रकारका उद्योग व्यापार चलाउन दिने निर्णय गरेको एक महीनापछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरू आंशिक रुपमा चल्न थालेका छन् । 
सरकारले लकडाउनको समयमा उद्योग चलाउन दिने भने यसअघि अत्यावश्यकीयबाहेकका उद्योग चल्न सकेका थिएनन् । विगत २/ ३ दिनययता बारा –पर्सा औद्योगिक कोरिडोरका अन्य उद्योग पनि चल्न थालेको उद्योगी राजेश क्यालले बताए ।

‘यसअघि खाद्यान्न, औषधी, पशुपंछीको दाना लगायतका अत्यावश्यकीय उद्योगमात्रै चलेकोमा अहिले केही निर्माण सामग्रीका उद्योग पनि चल्न थालेका छन् । अवस्था केही सहज हुँदै गएकाले उद्योग चल्न थालेका हुन्’, उद्योगी क्यालले आर्थिक अभियानसँग भने । 

अहिले पनि मजदूर आपूर्तिमा समस्या भोगिरहेको उद्योगीहरूले बताएका छन् । मजदूर अभाव र बजार अनिश्चित भएपछि सञ्चालनमा आएका उद्योगले क्षमताअनुसार उत्पादन गरेका छैनन् । सरकारले गत वैशाख २६ गते उद्योग सञ्चालन गर्ने निर्णय गरे पनि स्थानीय स्तरमा सहजीकरण नहुँदा उद्योगहरु चल्न सकेका थिएनन् । 

सञ्चालनमा आएका उद्योग क्षमताको २० देखि २५ प्रतिशतमा चलेको उद्योगी क्यालले बताए । उद्योगमा काम गर्ने प्राविधिक जनशक्ति लकडाउनका कारण उद्योगसम्म आउन नपाएकाले उत्पादनले गति लिन नसकेको उद्यमीहरुको भनाइ छ । 

स्थानीय प्रशासनले उद्योगमै आवासीय व्यवस्था मिलाएर उत्पादन गर्न भनेको छ । उद्योग परिसरमा आवासको व्यवस्थापन अधिकांश उद्यमीका लागि चुनौतीपूर्ण हुने वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालको दाबी छ । 

खाद्यान्न, औषधी, दानालगायका उद्योग यसअघि नै सञ्चालनमा आए पनि पूर्णक्षमतामा चल्न नपाएको नेपाल तेल दाल उद्योग संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए । 

खाद्यान्न उद्योगसमेत क्षमताको २५/ ३० प्रतिशतमा खुम्चिएको गुप्ताको भनाइ छ । कोरोना संक्रमण नियन्त्रणका लागि साढे २ महीनादेखि जारी लकडाउनले उद्योग व्यवसाय चौपट भएको भन्दै चलाउने उपयुक्त वातावरण बनाउन निजीक्षेत्रले माग गर्दै आएको छ । 

उद्योग चलाउन दिने भने पनि अहिलेसम्म उद्योगमा कच्चा पदार्थको आपूर्ति र उत्पादित बस्तु बजारसम्म लैजान अन्योल देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् । 

‘बजार  कहिले खुल्ने र कहिले बन्द हुने ठेगान छैन । आलोपालोमा खुलेको बजारमा पनि यही अन्योलले गर्दा क्रेता जान सकेका छैनन्,’ उद्योगी केडियाले आर्थिक अभियानसित भने । 
बजारको टुंगो नभएकाले उत्पादन बढाउन नसकिएको क्यालले बताए । 

‘मजदूर र कच्चा पदार्थ ल्याएर उत्पादन गरौं, भोलि बजारमा मालसामान पुर्‍याउन सकिएन भने झन् घाटा खाने अवस्था हुन्छ,’ उनले भने । बजार र आपूर्ति सहज भइनसकेकाले उद्योगका लागि चाहिने पाटपूर्जाको पनि अभाव भएको गुनासो क्यालले गरे । 

साढे २ महीनादेखिको लकडाउन कहिले टुंगिने निश्चित नभएपछि उद्योगीहरुले क्षमता भएर पनि धेरै उत्पादन गरेर जोखिम मोल्न चाहेका छैनन् । उद्योग सञ्चालनका लागि बजार  खुकुलो गरिनुपर्ने सुझाव उद्यमीहरूको छ । 

अधिकांश उद्यमीले सञ्चालन पूँजीको अभाव सामना गरिरहेका छन् । लकडाउनमा जोखिम मोलेर गरेको उत्पादन उधारो पठाउनु परेको र बजारबाट भुक्तानी नउठ्दा सञ्चालन खर्चको संकट आइपरेको न्यू ओम खाद्य उद्योगका प्रबन्ध निर्देशक विश्वामित्रप्रसाद कलवारले बताए । 

मुख्य बजारमा खटिने उद्योगका कर्मचारीलाई मापदण्ड बनाएर आवागमनको अनुमति दिइएमा भुक्तानी संकलन सहज हुनसक्ने सुझाव उद्यमीको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)