ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकीकृत जाँच चौकीको ३ वर्ष : वीरगञ्ज नाकाको आयातनिर्यात कारोबार अब आईसीपीबाट 

२०७७ जेठ, २६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

जेठ २६, वीरगञ्ज  । वीरगञ्ज भन्सारबाट हुने अधिकांश आयातनिर्यात कारोबार अहिले नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) बाट हुन थालेको छ । 

यो नाकाबाट हुने कुल वैदेशिक व्यापारमध्ये ९९ प्रतिशतभन्दा अधिक परिमाण जाँचपास आईसीपीबाटै भइरहेको वीरगञ्ज भन्सारले बताएको छ । आयातनिर्यात कारोबारको आकारका आधारमा वीरगञ्ज मुख्य नाका हो ।

अहिले केही पेट्रोलियम पदार्थ, तरकारी, क्लिंकर, कोइला, आइरनओर, स्ल्यागलगायतका केही मालसामानबाहेक अन्य व्यापार आईसीपीमा केन्द्रित भइसकेको प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए । 

भारतीय आयल निगम (आईओसी) को रक्सौल डिपोबाट लोड हुने पेट्रोलियम र रेलवेको रक्सौल यार्डबाट सिमेन्टको कच्चा पदार्थ वीरगञ्जको साविक इनार्वा नाकाबाट आइरहेको छ । 
वैदेशिक व्यापारलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले भारतको सहयोगमा निर्माण भएको आईसीपी विसं २०७४ जेठमा उद्घाटन भएको थियो ।

वीरगञ्ज नाकाबाट हुने सम्पूर्ण कारोबार आईसीपीमा एकीकृत गरेर व्यापारलाई छरितो र पारदर्शी बनाउने उद्देश्य राखिएको छ । वीरगञ्ज भन्सारको सबै कारोबार आईसीपीमा लगेर साविक नाकालाई यात्रु आवागमनमा सीमित गर्ने योजना छ ।

 ‘यही योजनाअनुसार भन्सारले नाकामा स्क्यानरसहितको यात्रुशाखा सञ्चालनको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको छ,’ प्रमुख भन्सार प्रशासक निरौलाले आर्थिक अभियानसित भने । 

उक्त संरचना निर्माणका लागि रू.९ करोडको ठेक्का आह्वान भइसकेको छ । इनर्वा नाकालाई यात्रुशाखा बनाएपछि राजस्व चुहावट र अवैध आयातको नियन्त्रणमा सहयोग पुग्ने विश्वास भन्सारका अधिकारीहरूको छ । 

‘आईसीपीमा मालसामान बोकेका गाडी भित्रिएपछि नेपाल र भारतका भन्सारसँगै इन्टरमोडेल यातायात विकास समितिको निगरानी हुन्छ, यसले आईसीपीबाट हुने कारोबारमा चुहावट नियन्त्रण सहज हुनेछ,’ एक जना भन्सार अधिकारले भने ।

भारतीय रेलवेको रक्सौल यार्डबाट आईसीपीसम्मको पहुँच मार्ग सहज हुन सकेमा अहिले इनर्वाबाट भित्रिइरहेको सानो परिमाणको व्यापार पनि आईसीपीमै लैजान सकिन्छ । रेलवे यार्डबाट आईसीपीसम्म करीब १ किलोमीटर दुरी छ ।

 रेलको यार्ड र आईसीपीबीचमा कच्ची सम्पर्क सडकसमेत भएकाले त्यसलाई विस्तार गर्दा सहज हुने आयातकर्ता प्रदीप केडियाको सुझाव छ । 

भारतको मोतिहारीदेखि नेपाल आयल निगमको अमलेखगञ्ज डिपोसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा रहेकाले ठूलो परिमाण पाइपलाइनबाटै आउँछ । आईओसीले रक्सौलको डिपोलाई निकट भविष्यमा मोतिहारी सार्दैछ । बरौनीबाट आउने इन्धन अहिले सिधै आइसीपीबाटै जाँचपास भइरहेको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)