जेठ २९, रौतहट । कोरोना संक्रमितको संख्या रौतहट जिल्लामा थपिंदै गएको अवस्थामा उपचारपछि निको भई घर फर्किनेको संख्या पनि बढेको छ ।
गौर तथा बिर्तामा रहेको क्वारेन्टाइनबाट बुधवार साँझ ८१ जना डिस्चार्ज भएका छन् ।
सदरमुकाम गौरस्थित नर्सिंङ क्याम्पसको क्वारेन्टाइनबाट १६ जना र प्रहरी स्कुल बिर्ताको क्वारेन्टाइनबाट ६५ जना निको भएका घर फर्किएको जिल्ला अस्पताल गौरले बताएको छ ।
अस्पताल मेडिकल सुपरटेण्ड डा कृष्ण साहका अनुसार ईशनाथ नगरपालिकाका ३५ जना, देवाही गोनाही नगरपालिकाका १० जना, गौर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका लगायतका कोरोना संक्रमितलाई उपचार पछि डिस्चार्ज गरिएको होे ।
पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा ८१ जनाकै रिपोर्ट निगेटिभ आएपछि दुई हप्ता होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको उनले जानकारी दिए ।
यसअघि गौरस्थित नर्सिङ क्याम्पसको क्वारेन्टाइनमा रहेका १८ जना र वीरगन्जस्थित नारायणी अस्पतालबाट ३ जना निको भएसँगै रौतहटका १०२ जना कोरोना संक्रमित घर फर्किएको जिल्ला अस्पताल गौरले बताएको छ ।
उक्त अस्पतालका अनुसार चन्द्रनिगाहपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।
राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २ जना महिला र ९५ जना पुरुष गरी कुल ९७ जना संक्रमित रहेकोे डा साहले जानकारी दिए ।
रौतहटमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या ४७४ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले बताएको छ । संक्रमित सवै जना भारतबाट आएर सोझै पालिकाले बनाएको क्वारेन्टाइनमा बसेकाहरु रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।