असार ४, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले प्रत्येक वडाका पशु तथा कृषि सहकारीलाई बोयर जातको बोका वितरण गरेको छ । बाख्राहरुमा नश्ल सुधार गर्नका लागि चन्द्रपुर नगरपालिका आर्थिक विकास समितिले नगरका १० ओटै वडामा बिहीवार उन्नत जातको बोका वितरण गरेको हो ।
नगरपालिकाको आर्थिक विकास समितिद्वारा पशु सेवा कार्यालय चन्द्रपुर शाखाको आर्थिक वर्ष २०७६/७७ को ९० प्रतिशत बजेटबाट ८३ प्रतिशत बोयर जातको बोका वितरण गरिएको आर्थिक विकास समितिका सदस्य संजय काफ्लेले बताए ।
सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड, दलित तथा जनजाति गरीबी निवारण पशु विकास कृषि सहकारी संस्था लिमिटेड, धर्मानन्द कृषि विकास बाख्रा फर्म, पूर्ण सहभागिता उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड र सूर्याटोल कृषक समूहका सञ्चालकहरुलाई बोका हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
पशु सेवा विकास शाखाको ९० प्रतिशत बजेट तथा कृषक संस्था प्रतिनिधीहरुको १० प्रतिशतको लागत सहभागितामा ४ लाख ५० हजारको बोयर जातको बोका वितरण गरिएको पशु सेवा शाखाका भेटनरी अधिकृत दुर्गा प्रसाद चिमोरीयाले बताए ।
व्यावसायिक बाख्रापालनमा उत्प्रेरित गर्न कृषकलाई बोका वितरण गरिएको उनले बताए । परम्परागत बाख्रापालन गरिरहेका कृषकलाई उन्नत जातको बोका वितरण गरिएपछि मासुजन्य उत्पादकत्व सुधार आउने उनको भनाइ छ ।
नगरपालिकाले नीतिगत मापदण्डभित्र परेकालाई बोयर जातको बोका वितरण गरेको पशुसेवा शाखा चन्द्रपुरका प्रमुख खड्क कुमार मैनालीले बताए । स्थानिय जातको बोकाभन्दा बोयर जातको बोका पाल्न सजिलो र आम्दानी पनि दोब्बर हुने भएकाले कृषकलाई यसतर्फ अग्रसर बनाउनका लागि वितरण गरिएको उनले जानकारी दिए ।