ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगीका सकस :  पहिले लकडाउनले बिथोल्यो, अहिले बजारले बिगार्‍यो  

२०७७ असार, १६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

असार १६, वीरगञ्ज  । विकास निर्माणको मुख्य समयमा देश लकडाउनले ठप्प भयो । वर्षेनि फागुनदेखि जेठको अन्त्यसम्म हुने विकास निर्माणको चक्रीय प्रभावले बजारका हरेक क्षेत्रमा माग बढाउनेमा व्यवसायीले यसपटक त्यसको अनुभूति पाएनन् । 

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैतदेखि जेठ अन्त्यसम्म लगाएको लकडाउनले बजार र आपर्ति अवरुद्ध भयो । अत्यावश्वकीय सूचीमा राखिएका उद्यम व्यापारको सञ्चालनसमेत सहज हुन सकेन ।

अहिले लकडाउनको स्वरुप फेरिएको छ । तर आवागमन र ढुवानीमा निययन्त्रण कायमै छ । अवरोधबीच पनि उद्योगहरूले उत्पादनलाई गति दिन थालेका छन् । करीब ३ महीने लकडाउनले थलिएको बजारले गति समात्न नसक्दा विक्री भने बढ्न नसकेको ती उद्यमी बताउँछन् । 

‘लकडाउनको एकसातालगत्तै चलाउन दिने भनिएका खाद्यान्न उद्योगको उत्पादन २ महीनासम्म क्षमताको ३० प्रतिशतबाट उकालो लागेको थिएन । अहिले उत्पादन ७०/ ७५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ,’ नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए, ‘उत्पादन बढाएरमात्रै भएन, बजारमा माग नै नभएपछि गोदाममा थन्क्याएर राख्ने स्थिति छ ।’  

लकडाउनका कारण उपभोक्ताको क्रय क्षमता घटेकाले माग प्रभावित भएको उद्यमीहरूको भनाइ छ । मुख्य सिजनमा उद्योग बन्द गरेर बसेका निर्माण सामग्री उत्पादक पनि सकसमा छन् । 
विकास निर्माण कम हुने अहिलेको समयमा उपभोक्ताको क्रय शक्तिमा आएको कमीले बजारलाई झन् सुस्त बनाएको उद्योगी राजेश क्यालले बताए ।


 ‘यो यसै पनि माग कम हुने समय हो, त्यसमाथि लकडाउनको प्रभावले माग खुम्च्याइदिएको छ,’ उद्योगी क्यालले आर्थिक अभियानसित भने ।  

बजार शिथिल भए पनि निर्माण सामग्री उद्योगले उधारो दिएका छैनन् । अधिक प्रतिस्पर्धाले ६ महीनासम्मको उधारो दिन तयार हुने उत्पादकले अहिले थोरै परिमाणमै भए पनि नगदमा कारोबार गरिरहेको उद्यमी बताउँछन् । 

‘वर्षको अन्त्यमा बैंकको ब्याज र कर चुक्ताका लागि नगद जोहो गर्न उधारो कारोबार रोकिएको हो,’ उद्यमीको भनाइ छ ।उत्पादनमा अब कुनै समस्या नभए पनि बजारले साथ नदिएको ओसीबी फुडका सञ्चालक सुरेश रुङ्गटाले बताए । 

‘उद्योगले धमाधम उत्पादन गरे पनि बजारले साथ दिएको छैन,’ उद्योगी रुङ्गटाले भने, ‘बर्खाको समयमा बाटोघाटो बिग्रिने र ढुवानीमा समस्या हुँदा यसै पनि माग कम हुन्छ । त्यहिँमाथि लकडाउनले बजार डामाडोल बनायो ।’ 

लकडाउनका बेला राहत बितरणले बढाएको खाद्यान्नको माग अहिले खस्किएको छ । माग घटेपछि मूल्य पनि घटेको उद्यमीले बताएका छन् । मुख्य खाद्यान्न चामलको मोल क्विन्टलमा रू. १ सयसम्म घटेको छ ।
  
अधिकांश उद्योगीलाई अहिले पूँजीको अभाव भइरहेको उद्योगी विश्वामित्रप्रसाद कलवारले बताए । ‘बजारमा माग छैन, उधारो उठाउन सकिएको छैन । यसले उद्योग चलाउनै कठिनाइ भइरहेको छ,’ वीरगञ्जको न्यू ओम खाद्य उद्योगका प्रबन्ध निर्देशक कलवारले आर्थिक अभियानलाई बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)