रौतहट । केराखेतीबाट मनग्गे आम्दानी हुने भएपछि रौतहटका किसानले अन्नबाली लगाउन छाडेका छन् । धान, मकै, गहँु, तोरी, मुसुरो, जस्ता अन्नबालीको उत्पादन गर्दै आएका चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसानले पछिल्लो समयमा केराखेती गर्न थालेका हुन् ।
गैडाटार क्षेत्रमा मात्र २० बिघा भन्दा बढी क्षेत्रफलमा किसानले केराखेती गरेका छन् । अन्नबाली उत्पादनका लागि लगानी, परिश्रम र मेहनत बढी हुने तर, उत्पादनमा कमी आउने गरेकाले केराखेती थालेको गैडाटारका किसान शंकर न्यौपानेले बताए ।
अधिकांशले आफ्नो खेतमा र केहीले जमीन भाडामा लिएर भए पनि केराखेती गर्न थालेका छन् । गाँउका अधिकांश किसानले केराखेती नै गरेकाले अगामी दिनमा गैंडाटार केराका लागि परिचित वा पकेट क्षेत्र हुने उनले बताए । एकपटक उत्पादन नहुञ्जेल मेहनत र लगानी गर्नु पर्ने र उत्पादन हुन थालेपछि आम्दानी हुने केराखेती गर्दै आएका किसानहरूको भनाइ छ ।
एउटा केराको बोटले एक सिजनमा ८० ओटादेखि १०० ओटा केरा उत्पादन दिने र प्रतिगोटा ४ रूपैयाँ ५० पैसामा विक्री हुने किसान ज्ञानबहादुर पुर्लामीले बताए । कठ्ठाको ४ हजारमा जमीन भाडामा लिएर गरेको केरा खेतीबाट अपेक्षा गरेअनुसार आम्दानी भएको उनले बताए ।
वैदेशिक रोजगारबाट फर्किएका युवाहरूले केराखेतीमा ध्यान दिए मनग्गे आम्दानी लिन सक्ने उनको भनाइ छ । बजारमा केराको माग उच्च रहेकाले व्यापारी खेतसम्मै खरीदका लागि आउने गरेकाले बजारको कुनै समस्या नरहेको उनले बताए ।
केराखेतीबाट मनग्गे आम्दानी लिन सकिने भएकाले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशबाट गाउँ फर्किएकाहरूले गाउँमा नै कृषि वा अन्य कर्म गर्न उनको सुझाव छ । केरा खेतीतर्फ किसानकको आकर्षण बढे पनि यहाँका स्थानीय तहहरूले भने सहयोग नगरेको गुनासो किसानहरूको छ ।