साउन १०, रौतहट । रासायनिक मल कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यापारी धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् । कृषि समग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट सहुलियतमा लिएको मल बढी मूल्यमा विक्री गरेको आरोपमा राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह जेल चलान भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाँउन नसक्दा जेल चलान भएको प्रहरीले जानकारी दिएको छ । तीन सहकारी संस्थासँग मिलेर अनुदानमा आएको रासायनिक मल बढि मूल्यमा विक्री गरेको आरोपमा प्रहरीले साहलाई असार १२ गते पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार कृषि समग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रविकुमार केशरी र वडा नम्बर १ का वडाध्यक्ष वीरबहादुर रखालसहित २५ जनामाथि कालोबजारीको मुद्दा चलाइएको छ ।
साह बाहेक मुद्दा चलाइएका अन्य सबै व्यक्ति फरार रहेको प्रहरीले जानकारी दिइएको छ । सिर्जनशील कृषि सहकारी, वाग्मती बचत तथा ऋण सहकारी र उन्नतिशील महिला कृषि सहकारीका नाममा प्रति बोरा रू. ७०० मा खरीद गरी १ हजार ७०० देखि २ हजार २०० मा विक्री गरेको उजुरी परेको थियो ।
तीनओटै सहकारीलाई अनुदानको मल दिन वडाध्यक्ष रखालले कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरलाई सिफारिस गरेका हुन् । अनुदानमा लिएको रासायनिक मल कृषकले पाएपछि संस्थाले विक्री वितरण प्रतिवेदन बनाउनु पर्छ । त्यो प्रतिवेदनसमेत नबनाईएको पाइएको छ ।