ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज नाकाबाट घट्यो गाडी आयात

राजस्वमा मुख्य योगदान गाडी र पेट्रोलियमकै

२०७७ सावन, १२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । आर्थिक वर्ष २०७६/७७ मा वीरगञ्ज नाकाबाट  सवारीसाधनको आयात उल्लेख्य परिमाणले घटेको छ । महँगा गाडी र पेट्रोलियम पदार्थको आयात घटाउने सरकारी नीतिका कारण गाडी आयातमा कमी आए पनि पेट्रोलियम पदार्थमा भने यसको प्रभाव आंशिक देखिएको छ ।

पेट्रोलको आयात घटे पनि डिजेल र एलपी ग्यासको आयात परिमाण बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । सवारीसाधन र पेट्रोलियम पदार्थको आयात परिमाण घटे पनि वीरगञ्ज भन्सारले उठाउने राजस्वमा योगदान दिने मुख्य ५ वस्तुको सूचीमा भने यिनै परेका छन् ।

वीरगञ्ज भन्सारले गतवर्ष सबैभन्दा बढी राजस्व डिजेलबाट उठाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा डिजेल आयात गत आवमा १७ प्रतिशतले बढेको वीरगञ्ज भन्सारका सूचना अधिकृत विमलकुमार साहले बताए । यस भन्सारले गतवर्ष १० लाख २३ हजार ५९४ किलोलिटर (केएल) डिजेलबाट रू. २२ अर्ब ७८ करोड राजस्व उठाएको छ । डिजेलबाट उठेको राजस्वमा यो समीक्षा वर्षको तुलनामा ३६ प्रतिशत बढी हो ।

राजस्वका हिसाबले दोस्रो स्थानमा जीपकार भ्यान परेको छ । आव २०७५/७६ को तुलनामा यस्ता गाडीको आयात र राजस्व उल्लेख्य घटे पनि समग्र राजस्वमा रू. १४ अर्ब ८७ करोड रुपैयाँ आएको सूचना अधिकृत साह बताउँछन् । ‘कोरोना संक्रमणको प्रभाव, ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातमा सरकारले लगाएको प्रतिबन्ध र गाडी कर्जामा गरिएको कडाइका कारण गाडी आयात घटेको हो,’ साहले आर्थिक अभियानलाई भने ।

पेट्रोलियम पदार्थको कुल आयातमध्ये आधाभन्दा बढी परिमाण भित्रिने वीरगञ्जबाट गतवर्ष पेट्रोलको आयात ५ प्रतिशतले घटेको भन्सारले बताएको छ । यसबाट सरकारलाई रू. ११ अर्ब ५९ करोड रुपैयाँ राजस्व आएको भन्सारको तथ्यांकमा देखिन्छ ।

राजस्व योगदानमा चौथो स्थानमा रहेको मोटरसाइकलको आयात भने उल्लेख्य परिमाणले घटेको छ । सरकारले विलासिताको वस्तु भने पनि हिजोआज आवश्यकता बनिसकेको मोटरसाइलको आयात गतवर्ष ४२ प्रतिशतले घटेको छ । आव २०७५/७६ मा १ लाख २ हजार ७३३ ओटा मोटरसाइकल भित्रिएकोमा बितेको वर्ष यो संख्या ५९ हजार ८७२ मा झरेको छ । यसबाट रू. ६ अर्ब ६३ करोड राजस्व उठेको वीरगञ्ज भन्सारले बताएको छ । तर, समीक्षा वर्षको तुलनामा यो राजस्व परिमाण ३२ प्रतिशतले न्यून हो ।

एलपी ग्यासबाट रू. ३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सारले बताएको छ । गतवर्ष २ लाख ६७ हजार ५२२ मेट्रिकटन ग्यास आयातको तथ्यांक भन्सारसित छ । आयात १ प्रतिशतले बढे पनि ग्यासबाट संकलन हुने राजस्वमा भने १६ प्रतिशतले कमी आएको छ । प्रमुख वस्तुको आयात र राजस्व घटेपछि वीरगञ्ज भन्सारको कुल राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सारलाई रू. १ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकिएकोमा रू. १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ असुल गरेको छ । यो राजस्व रकम निर्धारित लक्ष्यको ६७ प्रतिशतमात्र हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)