ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारा–पर्सा औद्योगिक कोरिडोरमा कोरोना संक्रमणको त्रास

उद्योगी भन्छन् –लकडाउनमा बाहिरबाट कामदार आएका छैनन्

२०७७ सावन, १३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

साउन १३, वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका केही उद्योगका कामदारमा कोरोना संक्रमण भेटिएपछि त्रास फैलिएको छ । शंकास्पद बिरामीको सम्पर्कमा नआएका र कतै यात्रासमेत नगरेकामा संक्रमण भेटिन थालेसँगै बारा र पर्साका ३ ओटा उद्योगका केही कामदारमा पनि कोरोना पुष्टि भएको हो । 

करीब चार महीना लामो लकडाउनपछि कोरिडोरका उद्योग सामान्य अवस्थामा फर्किने प्रयत्न गरिरहेका बेला उद्योगमै संक्रमति फेला पर्न थालेपछि कामदार कर्मचारीमा त्रास उत्पन्न भएको छ । उद्योगका सञ्चालकहरू समेत अन्योलमा परेका छन् । संक्रमति बढेपछि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । 

संक्रमित फेला परेका दुई ओटा औषधी र एउटा डण्डी उद्योग सिल गरिएको छ । अन्य उद्योग प्रतिष्ठानका सञ्चालकलाई समेत उद्योग सञ्चालनमा द्विविधा भएको छ । कामदार कर्मचारीहरू उद्योगमा काम गर्न डराइरहेका छन् । 

केही उद्योगले उद्योग परिसरमै आवासीय प्रबन्ध र सतर्कताका उपाय अपनाइएको बताएका छन् । संक्रमणको जोखिम घटाउन कामदारलाई उद्योगको हातामै खाने र बस्ने व्यवस्था मिलाएर काममा लगाइएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले बताए ।

 ‘उद्योग आवासीय व्यवस्था मिलाएर सञ्चालन गरिएको छ । सतर्कता अन्य सबै प्रबन्ध मिलाइएका छौं,’ चाचानले आर्थिक अभियानसित भने । बन्दाबन्दीको समयमा भारतबाट कामदार ल्याएर उद्योग चलाएकाले संक्रमण फैलिएको आशंकामा जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण कार्यालयले स्थानीय केही उद्योगमा अनुगमन गरेको छ । तर, संक्रमित भेटिएका उद्योगले कार्यरत भारतीय कामदार बन्दाबन्दी अघिदेखि नै यहीँ रहेको बताएका छन् । 
आफूकहाँ काम गरिरहेका कामदार ६ महीनादेखि पर्सामै रहेको जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अनिलकुमार रुङ्गटाले बताए । 

‘बन्दाबन्दीको समयमा कुनै पनि कामदार कर्मचारी बाहिरबाट आएका छैनन् । काममा लगाइएका सबैजना छ महीनाभन्दा लामो समयदेखि यहीं छन्,’ सञ्चालक रुङ्गटाले भने ।
 उक्त उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित तीन जनामा संक्रमण पुष्टि भएको छ । 

बारा र पर्सामा लक्षणसहितका संक्रमित भेटिएकाले बन्दाबन्दीको बेलामा लुकिछिपी भित्रएकाले ल्याएको आशंका प्रशासनको छ । तर, भारतीय कामदारलाई काममा लगाएका उद्योगले पनि पीसीआर परीक्षण गराएरमात्रै उद्योगमा प्रवेश गराएको बताएका छन् । 

बाराको मारुती फर्मास्विटिकल्सका ९ जना कर्मचारीमा कोरोना संक्रमण भेटिएको छ । तर, उक्त उद्योगमा एक जना पनि भारतीय कामदार नरहेको दाबी सञ्चालक प्रभात रुङ्गटाले गरे । ‘उद्योगमा भारतीय कामदार एकजना पनि छैनन् । संक्रमण कसरी फैलियो भन्नेमा हामी आफैं अन्योलमा छौं,’ रुङ्गटाले आर्थिक अभियानसित भने । 

केही कामदारहरूमा ज्वरो देखिएपछि गराइएको परीक्षणमा तीन जनालाई कारोना पोजेटिभ देखिएको थियो । स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र वीरगञ्ज महानगरमा तत्कालै जानकारी पठाएकोमा पाँच दिनपछि स्वाव संकलन भएको गुनासो उनले गरे ।  

स्वाब लिइएका मारुतीका ४५ जना कर्मचारीलाई वीरगञ्जको सिद्धार्थ मावि क्वारेन्टाइनमा राखिएकोमा ६ बितिसक्दा पनि जाँचको रिपोर्ट दिइएको छैन । जनशक्तिको कमी र महागनरले समुदायमा थालेको परीक्षणका कारण चाप बढेकाले समयमा रिपोर्ट दिन नसकिएको नारायणी अस्पताल प्रयोगशालाले बताएको छ । 

कोरिडोरका ५० ओटा उद्योगलाई त्यहाँ कार्यरत भारतीय कामदारको विवरण, उनीहरूको ट्राभल हिस्ट्रीलगायतका जानकारी मागिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बलको सहयोगमा ५०० ओटा उद्योगसित विवरण संकलन गरिने पनि बस्नेतले बताए । 

उद्योगका कामदारमा संक्रमण भेटिएमा संक्रमितको सम्पर्कमा आएकाको परीक्षण, क्वारेन्टाइन र आइसोलेशनको प्रबन्ध सम्बन्धित उद्योगले नै मिलाउनुपर्ने प्रशासनले बताएको छ । वीरगञ्जमा कोरानाका संक्रमति र मृत्यु हुनेको संख्या बढ्न थालेपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ । 

वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण सात जनाको मृत्यु भएकोमा पछिल्लो पटक तीन दिनमै चार जनाको ज्यान गएको थियो । १२५ जना नयाँ संक्रमति भेटिएका छन् । सबै संक्रमितलाई आईसोलेशनसमेत उपलब्ध गराइएको छैन । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)