ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमानाका बन्द भएपछि सुनसान भयो रक्सौल बजार 

२०७७ सावन, २०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सीमावर्ती रक्सौल बजारको फाइल फोटो
author avatar ओमप्रकाश खनाल

साउन २०, वीरगञ्ज । नेपाली ग्राहकको भरमा चलेका सीमावर्ती भारतीय बजार अहिले सुनसान छन् ।

वीरगञ्जको सीमावर्ती भारतीय रक्सौल बजारका व्यासायीलाई अहिले पसलको भाडा र कामदारलाई तलब दिनसमेत धौ–धौ भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सिमाना बन्द गरिएपछि ती बजारको व्यापार पनि ठप्प भएको त्यहाँका व्यवसायीले बताएका छन् ।

बिहार राज्यमा कोरोनाका संक्रमित बढेपछि अहिले त्यहाँ लकडाउन लागू गरिएको छ । लकडाउन खुलेको समयमा समेत सिमाना बन्द भएकाले व्यापार हुन नसकेको रक्सौलस्थित जयनेपाल साडी शो–रुमका सञ्चालक विमल अग्रवालले बताए । नाकाबाट मानिसको आवागमनमा लगाइएको रोक र कोरोना संक्रमणको त्रासले बजार प्रभावित भएको हो ।

रक्सौल बजारका करीब दुई तिहाई ग्राहक नेपाली हुने गरेकोमा ती ग्राहक जान बन्द भएपछि त्यहाँको व्यापार व्यवसायमा ठूलो धक्का लागेको व्यवसायी बताउँछन् । लकडाउन खुलेको समयमा नेपाली ग्राहक नगएपछि व्यापार नराम्ररी प्रभावित भएको व्यवसायीको गुनासो छ । 

रक्सौल नेपाली ग्राहकले धानिएको बजार हो । सामान्य अवस्थामा पर्साको वीरगञ्ज तथा ग्रामीण क्षेत्र, बाराको सिमरा, जितपुर र मकवानपुरको हटौंडाबाट ग्राहक जाने गरेका थिए । ‘रक्सौलमा दैनिक सयौं नेपाली ग्राहकको भिड लाग्दथ्यो । तर, सीमा बन्द भएपछि व्यापार चौपट भयो,’ अग्रवालले भने ‘रक्सौलका कपडा, किराना, भाँडकुँडा, विद्युतीय सामग्रीलगायतका पसलमा नेपाली ग्राहककै बहुल्यता हुनेमा त्यस्ता पसल सुनसान छन् ।’ 

सिमाना बन्द गरेयताको ४ महीनामा रक्सौलको बैंकरोड र लोहारपट्टी रोडका कतिपय व्यवसायीले व्यापार नै बन्द गरेका छन् । पसलको भाडा र सामान्य खर्चसमेत उठाउन नसकेपछि व्यवसाय नै बन्द गर्नु परेको एक व्यवसायीले गुनासो गरे । 
‘सटरको भाडा र कामदारको खर्चमात्रै महीनामा भारू ५० हजारदेखि २ लाखसम्म छ । दिनमा भारू २/ ३ हजारको पनि विक्री नभएपछि व्यवसाय बन्द गर्नुको विकल्प भएन,’ उनले भने । सहज अवस्थमा दिनहुँ कम्तीमा भारू ५० हजारको व्यापार हुने गरेकोमा सिमाना बन्द भएयता विक्री घटेर भारू ५ हजारमा झरेको अग्रवालले सुनाए । 

ग्रामीण क्षेत्र खुकुलो 

सिमाना बन्द भनिए पनि ग्रामीण क्षेत्रमा पर्ने सिमानाबाट भने आवतजावत भने भइरहेको पाइएको छ । यस्ता क्षेत्रबाट लुकिछिपी भएको आवागमनकै कारण पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमण फैलिएको निष्कर्ष सरोकारका निकायले निकालेका छन् । 

मुख्य नाकाबाट किनमेलका लागि मानिस नगए पनि वीरगञ्ज क्षेत्रमा रोजगारी र व्यवसाय गर्ने भारतीय आवतजावत गरिरहेको पाइएको छ । वीरगञ्ज महानगरले संघीय सरकारलाई पत्र लेखेरै यसबारेमा ध्यानाकर्षण गराएको थियो । 

सरकारले लकडाउन हटाए पनि सिमाना बन्द राख्ने बताएको थियो । वीरगञ्जमा संक्रमित र मृत्यु हुनेको संख्या बढेपछि स्थानीय प्रशासनले अहिले पर्सा जिल्लाभरि निषेधाज्ञा लगाएर सिमानाबाट भइरहेको ओहोरदोहोरमा कडाइ गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)