ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. २० करोड लगानीमा बायोग्यास प्लान्ट निर्माण धमाधम

भौतिक निर्माणको काम सकियो, कात्तिकमा ग्यास उत्पादन गर्ने तयारी

२०७७ सावन, २३  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको घोराहीमा निर्माण हुन लागेको वायोग्यास प्लान्टको भौतिक निर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिकाको सेनेटरी ल्यान्डफिल साइटको करीब ३ बिगाह क्षेत्रफलमा ग्यास प्लान्ट निर्माण भइरहेको हो ।

घोराही उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहोरबाट ग्यास उत्पादन गर्नका लागि निर्माण शुरू गरिएको ग्यास प्लान्टको भौतिक पूर्वाधारको काम करीब सकिएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । ‘ग्यास प्लान्टको भौतिक पूर्वाधारको काम सम्पन्न भएको छ’, उनले भने, ‘अब ग्यास उत्पादनका लागि आवश्यक प्रविधिका सामग्री आएमा ग्यास उत्पादनको काम पनि शुरू गर्छाैं ।’

लकडाउनका कारण ग्यास उत्पादनका लागि भारतबाट आउने प्रविधिसँग जोडिएका (मेशिनरी) सामग्री नआएका कारण अन्य काम अघि बढाउन समस्या रहेको नेपाल उर्जा विकास कम्पनी प्रालिले बताएको छ । ति सामान आउनासाथ ग्यास उत्पादनका लागि प्राविधिक काम शुरू हुने छ । सहजरूपमा प्रविधिका सामान आए पनि आउँदो कात्तिक महीनासम्म ग्यास उत्पादन गर्न सकिने म्यानेजर श्रेष्ठले बताए ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल उर्जा विकास कम्पनी प्रालिले करीब रू. २० करोडको लगानीमा प्लान्ट निर्माण गरिरहेको हो ।
२०७५ मंसिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको थियो । एक वर्षको म्याद भए पनि काम सम्पन्न हुन नसकेकाले घोराही उपमहानगरपालिकाले गएको चैत महीनासम्मका लागि म्याद थप गरेको थियो । तर, कोरोनाको कारण त्यो समयावधिमा पनि काम सम्पन्न हुन नसकेपछि पुनः २०७७ कातित्तक मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।

प्लान्ट सञ्चालनमा आएपछि दैनिक ७० देखि ८० सिलिन्डर ग्यास उत्पादन हुने छ भने २० टन कम्पोष्ट मल उत्पादन हुने बताइएको छ । जसका लागि नेपाल उर्जा विकास कम्पनीले २० वर्षका लागि सम्झौता गरेको छ । सम्झौता अनुसार २० वर्षसम्म कम्पनीले आफैं ग्यास उत्पादन गरेर विक्री गर्ने छ भने कारोबारको ५ प्रतिशत घोराही उपमहानगरपालिकालाई रकम दिनु पर्ने छ ।

२० वर्षपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । ग्यास प्लान्टमा नेपाल उर्जा विकास कम्पनीको ६० प्रतिशत र ४० प्रतिशत वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको लगानी छ ।

घोराही उपमहानगरपालिकामा दैनिक २३ देखि २४ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये ७० प्रतिशत गल्ने प्रकृतिका फोहोर उत्पादन हुने गरेको छ ।

उपमहानरपालिकाबाट उत्पन्न हुने फोहोरबाट ग्यास निकाल्ने भएपछि यहाँको फोहोर व्यवस्थापनमा सहजता आउनाका साथै घोराही १६ मा रहेको सेनेटरी ल्यान्डफिल साइटको आयुसमेत बढ्ने घोराही उपमहानगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)