रुकुम । रुकुम पश्चिमका ६ ओटै स्थानीय तहका करीब ५ हजार जनाले रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा रुकुम पश्चिमका ४ हजार ७५३ जनाले प्रत्यक्ष रोजगारी पाएका हुन् । संघीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत रू. ८ करोड ४३ लाख ३९ हजार खर्च गरेर सो संख्यामा रोजगारी सृजना गरिएको हो ।
संघीय सरकारले बेरोजगारहरूलाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारी दिने उद्देश्यले रुकुम पश्चिमका ६ ओटै स्थानीय तहमा रोजगार कार्यक्रम सञ्चालन गरिएको थियो । तर, स्थानीय तहहरूले सञ्चालन गरेका यो कार्यक्रम उद्देश्यअनुरूप भने सञ्चालन भएका छैनन् ।
सरकारले कम्तीमा १०० दिनको रोजगारी प्रदान गर्ने भने पनि यहाँका स्थानीय तहहरूले १० दिनदेखि २५ दिनसम्म मात्रै रोजगारी प्रदान गरेको पाइएको छ ।
स्थानीय स्तरको गोरेटो बाटो, खानेपानी, भवन, शौचालय, खेलमैदान, सडक मर्मतसहित क्वारेन्टिन निर्माणलगायत क्षेत्रमा बेरोजगारलाई रोजगारी दिइएको यहाँका स्थानीय तहहरूले बताएका छन् । स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत वर्ष जिल्लाभरमा २ हजार ३६४ जना र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत २ हजार ३८९ जनाले रोजगारी पाएको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार सबैभन्दा वढी बाँफीकोट गाउँपालिका १ हजार ३७० जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६५० जना र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत ७२० जनालाई रोजगारी प्रदान गरेको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले जानकारी दिए ।
त्यस्तै त्रिवेणी गाउँपालिकाले १ हजार १५९ जनालाई रोजगारी प्रदान गरेको छ । गाउँपालिकाका रोजगार संयोजक सागर सापकोटाका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६१४ जना र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ५४५ जनाले रोजगारी पाएका हुन् ।
यसैगरी मुसीकोट नगरपालिकाले गत वर्ष ७५९ जनालाई रोजगारी प्रदान गरेको बताएको छ । नगरपालिकाका रोजगार संयोजक माया श्रीवास्तवका अनुसार समयमा बजेट नआएका कारण मजदुरहरूले यस वर्ष १० दिनदेखि २५ दिनसम्म मात्र रोजगार पाएका छन् ।
त्यस्तै चौरजहारी नगरपालिकामा सबैभन्दा कम ४१६ जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १०२ जना र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ३१४ जनाले रोजगारी पाएको रोजगार संयोजक कृष्ण शर्माले जानकारी दिए ।
यसैगरी आठबीसकोट नगरपालिकाले ५५० जना र सानीभेरी गाउँपालिकाले ४९९ जनालाई रोजगारी दिलाएको छ । आठबीसकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ३०० जना र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २५० जनाले रोजगारी पाएको बताइएको छ । यस्तै सानीभेरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २४८ जना र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत २५१ जनाले रोजगारी पाएको तथ्यांकले देखाएको छ ।
यो वर्ष लकडाउनका कारण बेरोजगारको सूचीमा सूचीकृत भएका भन्दा अन्य व्यक्तिले पनि काम गरेकाले ताकिएको अवधिसम्म रोजगारी उपलब्ध गराउन नसकिएको स्थानीय तहहरूको भनाइ छ ।