ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुग्यो २ हजार ६०० मेट्रिकटन युरिया   

२०७७ भदौ, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
कोलकाता बन्दरगाहमा नेपालका लागि रेलमा मल लोड गर्दै गरेका मजदूरहरु । तस्वीर : आर्थिक अभियान
author avatar ओमप्रकाश खनाल

भदौं १०, वीरगञ्ज । भारतीय बन्दरगाहमा करीब पाँच महीना रोकिएको युरिया मल वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको छ । अघिल्लो हप्ता कोलकाता बन्दरगाहमा अनलोड भएकोमध्ये २ हजार ६०० मेट्रिकटन (५२ हजार बोरा) मल बुधवार वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको हो । 

कोलकातामा साल्ट ट्रेडिङ कर्पोरेशनको ३२ हजार मेट्रिकटन मल आएको छ । यसमा अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को २१ हजार ५०० र यो वर्ष २०७७/ ७८ को १० हजार ५०० मेट्रिकटन रहेको साल्ट ट्रेडिङले बताएको छ । 

सुक्खा बन्दरगाहमा आइपुगेको युरिया मल भन्सार जाँचापास भएर भित्रिएपछि किसानलाई उपलब्ध गराइने साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले जानकारी दिए ।

‘मल भित्रिन शुरू भइसकेकाले कोलकातामा आइपुगेको सबै मल अबको केही दिनभित्रै भित्रिइसक्छ, त्यसपछि आपर्ति सहज हुन्छ,’ प्रमुख लामिछानेले आर्थिक अभियानसित भने । साल्ट ट्रेडिङको उक्त कार्यालयले १९ ओटा जिल्लामा मल आपूर्ति गर्दछ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका कोलकातास्थित कार्यालय प्रमुख लक्ष्मण खड्काका अनुसार कोलकाताबाट रेलमार्फत वीरगञ्ज बन्दरगाहका लागि २ हजार ६०० मेट्रिकटन युरिया हिड्नुअघि सकडमार्गबाट पनि ३ हजार ९०० मेट्रिकटन मल गइसकेको छ । सडकमार्गबाट गएको यो मलमध्ये केही विराटनगर नाकाबाट भित्रिइसकेको छ । 

अरू परिमाण पनि भित्रिने क्रममा रहेको साल्ट ट्रेडिङले बताएको छ । साल्ट ट्रेडिङको विराटनगर कार्यालयले पूर्वी क्षेत्रका किसानलाई मल उपलब्ध गराउँछ । थप २ हजार ६०० मेटिकटन युरिया बोकेर बुधवार कोलकाताबाट वीरगञ्जका लागि रेल हिँडेको जानकारी खड्काले दिए । 

मल आपूर्तिको जिम्मा लिएका साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले समयमा मल भित्र्याउन नसक्दा रोपाईंको बेला मलको हाहाकार भएको थियो । अहिले धान गोड्ने बेला भएकाले फेरि मलको माग बढेको छ । 

कृषि सामग्री कम्पनीबाट ५० हजार मेट्रिकटन मल आपर्तिको ठेक्का लिएका कम्पनीले भने मल कहिले भित्र्याउने भन्ने अझै टुंगो छैन । साल्ट ट्रेडिङको मल आपूर्तिकर्ता मल्टी कमोडिटी ट्रेडिङले कोलकाता ल्याउनुपर्ने मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा पुर्‍याएपछि आपूर्तिमा ढिलाई भएको हो । चैतको अन्तिम साता कान्डला पुगेको मल त्यहीँ अड्किएको थियो ।

नेपाल–भारत पारवहन सन्धिअनुसार नेपालले कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहमात्र उपयोग गर्न पाउने भएकाले कान्डलामा मल रोकिएको हो । कान्डलाबाट मल ल्याउने प्रयास असफल भएपछि पानी जहाजमा कोलकाता ल्याइएको थियो । 

ओपन कार्गोको रुपमा आएको मल कोलकातामा ब्यागिड गरेर नेपाल भित्र्याइको हो । कोलकातामा ठूला पानी जहाज आउन नसक्ने भएकाले सागरद्वीपबाट बर्ज जहाजमा लोड गरेर बन्दरगाहमा पुर्‍याइएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)