रुकुम । रुकुमको पितिवाङखोलामा पुल नबन्दा यात्रुले सास्ती खेप्न परिरहेको छ । जिल्लालाई राप्ती लोकमार्गले जोडेको करीब २ दशक पुग्दासम्म पनि पितिवाङखोलामा पुल नबन्दा यात्रुले सास्ती पाएका हुन् । लोकमार्ग अन्तर्गत सिम्रुतु–सोलाबाङ खण्डमा पर्ने पितिवाङखोलामा पुल नबन्दा यात्रुले हरेक वर्षामा ठूलो सास्ती भोग्दै आएका छन् ।
विशेषगरी साउनपछि कात्तिक नलागेसम्म पितिवाङखोलाले यात्रु तथा मालबाहक गाडीलाई रोक्छ । खोलामा पुल नबन्दा घर नजिकै पुगिसकेका र जिल्लाबाहिर जान पर्ने यात्रुहरू लामो समय खोला किनारमै बस्न पर्ने बाध्यता झेल्दै आएको स्थानीयवासी नरेन्द्र ओलीले बताए । उनले भने, ‘पुल निर्माण नहुँदा हरेक वर्ष वर्षाको समयमा सास्ती हुने गरेको छ ।’ उनका अनुसार डोजर लगाएर गाडी नतारिएसम्म यात्रुहरू खोला किनारमै बस्न बाध्य छन् । यसका साथै पैदलयात्रीहरू पनि जोखिम मोलेर खोला तर्न बाध्य छन् ।
वर्षायाममा खोला बढेसँगै खोला किनारमा स्थानीय युवाको भीड लाग्छ । उनीहरूले मोटरसाइकल र स्कुटर तारेबापत प्रतिसवारी रू. ५०० लिने गरेका छन् । पितिवाङ खोलाका कारण दैनिक सयौं यात्रुले दुःख पाइरहेको स्थानीय छवि केसीले बताए । ‘जिल्ला अस्पताल जाने र अस्पतालबाट बाहिर रिफर गरेका बिरामीले समेत खोलाकै कारण ज्यान गुमाउनु पर्ने बाध्यता छ’, उनले भने, ‘सडक कालोपत्र भएर पनि उप्किसक्यो, पुल भने अझै बनेन ।’
पुल निर्माणमा तीव्रता दिन निर्देशन
पितिवाङखोलामा सडक निर्माण्सँगै पुल पनि बन्नु पर्ने हो । तर, सडक बनेको करीब १७ वर्षपछि मात्रै पुल निर्माणको ठेक्का लाग्यो, त्यो पनि काम अझै शुरू भएको छैन । सडक डिभिजन कार्यालय, चौरजहारीले गत वर्ष मोटरेबल पुल निर्माणका लागि संरक्षण निर्माण सेवासँग सम्झौता गरेको थियो ।
२०७८ वैशाख ८ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने गरी रू. ५ करोड २८ लाखमा सम्झौता गरिएको कार्यालयले बताएको छ । ठेकेदार कम्पनीलाई पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिएका छन् । उनले भने, ‘पुल निर्माण कम्पनीले पनि निर्धारित समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।’