ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगको उत्पादन फेरि  सुस्तायो

२०७७ भदौ, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

भदौ ११, वीरगञ्ज  । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाले प्रमुख औद्योगिक कोरिडोरको उत्पादन  खुम्चिएको छ । चार महीना लामो बन्दाबन्दी हटेपछि बढ्न थालेको औद्योगिक गतिबिधि पछिल्लो निषेधाज्ञायता सुस्ताएको हो । 

कोरोनाको गम्भीर लक्षणसहितका संक्रमित बढेपछि अहिले ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ । उत्पादनका केन्द्र र मुख्य बजार दुवै प्रभावित भएपछि उत्पादन घटेको उद्यमीहरू बताउँछन् । 

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै उद्योगले उत्पादन बढाएकोमा अहिले अवरुद्ध भएको छ । बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगको उत्पादन अहिले क्षमताको २५ प्रतिशतभन्दा तल झरिसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोधकुमार गुप्ताले बताए । 

बारा र पर्सामा करीब एक महीनादेखि निषेधाज्ञा लगाइएको छ । वीरगञ्ज कोरोनाको केन्द्रबिन्दु बनेपछि सबैभन्दा पहिला यो कोरिडोर प्रभावित भएको हो । स्थानीय उद्योगमा संक्रमित भेटिन थालेपछि प्रशासनले उद्योग क्षेत्रमा कडाइ गरेको छ । कोरिडोरका १ दर्जनभन्दा बढी उद्योगमा संक्रमित फेला परेका छन् । 

गम्भीर लक्षणसहितका संक्रमित देखिन थालेपछि उद्योग सञ्चालक र कामदारसमेत त्रसित छन् । बन्दाबन्दीको केही दिनलगत्तै सरकारले अत्यावश्यकीय उद्योग चल्न दिएको थियो । प्रहरी प्रशासनले अहिले त्यस्ता उद्योगमा समेत कडाइ गरेको उद्योगीहरूले बताए ।संक्रमित बढ्न थालेपछि उद्योगमै आवासको व्यवस्था मिलाएर चलाउन भनिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डिले बताए । 

अधिकांश उद्योगमा मजदूरलाई भित्रै राखेर चलाउने पूर्वाधार नभएको उद्योगी हरि गौतम बताउँछन् । ‘निषेधाज्ञाका कारण भन्सार, ढुवानी र बैंकजस्ता सरोकारका पक्ष पनि प्रभावित भएकाले उद्योगको उत्पादन घटेको छ,’ गौतमले आर्थिक अभियानसित भने । भन्सारलाई अत्यावश्यकीय सेवामा राखिए पनि भन्सारका एजेन्टले आलोपालो काम गरेकाले कच्चा पदार्थको आपूर्तिमा समस्या भएको उनको भनाइ छ । 

बन्दाबन्दी हटेपछि क्षमताको ७० देखि ८० प्रतिशतसम्म चल्न थालेका उद्योगहरू अहिले २५ प्रतिशतभन्दा पनि तल झरिसकेको नेपाल चामल तेल दाल संघका अध्यक्षसमेत रहेका गुप्ताले बताए । 

‘अत्यावश्यकीय सूचीमा राखिएका उद्योगसमेत क्षमतामा चल्न पाएका छैनन् । कच्चा पदार्थ र कामदार पुर्‍याउन कठिनाइ भइरहेको छ । उत्पादन भइहाले पनि बजार छैन,’ गुप्ताले भने । 

बन्दाबन्दीमा पूर्ण क्षमतामा चलेका औषधि उद्योगहरू अहिले २५ देखि ३० प्रतिशतमा सीमित भएको उद्योगीहरूले बताएका छन् । ‘कच्चा पदार्थको आपूर्तिमा अवरोध र उद्योगसम्म कामदार लैजान नसक्दा उत्पादन घटेको क्वेष्ट फर्मास्विटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए ।
 

निषेधाज्ञालगत्तै २ हप्ता बन्द भएको यो उद्योगले त्यसयता आधा कर्मचारी राखेर उत्पादन थालेको छ । बारा र पर्साका उद्योगीले कोरिडोरका उद्योगमा नमूना पीसीआर परीक्षण गरेर उद्योगको जोखिम वर्गीकरण गर्न सुझाएका थिए ।
 

जोखिम मूल्यांकन गरेर उद्योग सञ्चालनको वातावरण बनाउज सकिने उनीहरुरूको भनाइ छ । तर, संक्रमित भेटिएका उद्योगमा मात्रै परीक्षण भइरहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)