रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ मा अवस्थित सितलपोखरी पर्यटकीय क्षेत्रको रूपमा विकास हुन थालेको छ । रुकुम पश्चिममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सितलपोखरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै संरक्षणका कामहरू अगाडि बढाइएका छन् ।
वर्षौंदेखि ओझेलमा पर्दै आएको शितलपोखरीभित्र शिवमन्दिर र भौतिक संरचनाहरू निर्माण गरेर संरक्षण गर्न लागिएको मुसीकोट नगरपालिका–४ का अध्यक्ष निर्मलकुमार पुनले बताए । उनका अनुसार शितलपोखरीभित्र शिवमन्दिर निर्माण र घेराबार लगायतको संरचनाहरू निर्माण हुने भएका छन् ।
पर्यटनको राम्रो सम्भावना बोकेको शितलपोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न गत आर्थिक वर्ष २०७६/७७ को रू. २० लाख बजेटबाट व्यवस्थित शिवमन्दिर निर्माण गरिएको हो । वर्षौंदेखि ओझेलमा परेको यो पोखरी संरक्षणमा स्थानीय सरकारले चासो देखाएको भन्दै स्थानीय खुशी भएका छन् ।
मुसिकोट नगरपालिकाले यसवर्षको नीति तथा कार्यक्रममा समेत नगरपालिका भित्रका विभिन्न ऐतिहासिका महत्त्व बोकेको पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । जसअन्तर्गत शितलपोखरीलाई पनि पर्यटन क्षेत्रका रूपमा विकास र विस्तार गरिने मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारले बताइन् ।
रुकुम पश्चिमको आर्थिक विकासका लागि पर्यटकीय क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थानीय सरकारले पहल गर्ने उनको भनाइ छ । शितलपोखरी राप्ती लोकमार्ग तथा मध्यपहाडी लोकमार्गसँगै रहेकाले पर्यटकका लागि नयाँ गन्तव्य बन्ने यहाँका पर्यटक व्यवसायीहरू बताउँछन् ।