भदौ १९, रौतहट । नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने १४ ओटा टिपरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
वाग्मती नदीमा नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा सशस्त्र प्रहरीले टिपर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको टिपरलाई सशस्त्र प्रहरीले शुक्रवार जिल्ला समन्वय समिति रौतहटमा बुझाएको छ ।
अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने टिपरहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सन्तपुरका प्रहरी नायव उपरिक्षक विकास भुजेलले बताए । वाग्मती नदीबाट उत्खनन गरिएको गिट्टी, बालुवा जिल्लाको विभिन्न भागमा ढुवानी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताए ।
नदी उत्खननको ठेक्का बन्द रहेको अवस्थामा अवैध तरिकाले निकालिएको नदीजन्य पदार्थहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ११ नं. गण रौतहटले जानकारी दिएको छ ।
जिल्ला समन्वय समितिका लेखापाल देव कुमार यादवले व्यवसायिक प्रयोजनका लागि नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने साधनलाई कारवाही गरिने बताए ।