ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मदिरा सेवन गर्नेलाई ‘जड्याहा कार्ड’ वितरण गरिँदै

२०७७ भदौ, २१  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले मदिराको कारोबार गर्ने इच्छुक व्यक्तिलाई नगरपालिकाबाट अनुमति लिन दर्खास्त आह्वान गरेको छ । नगरपालिकाभित्र मदिरा विक्रीवितरणलाई व्यवस्थित गर्नका लागि नगरले एक सूचना जारी गरी इच्छुक मदिरा व्यवसाय गर्ने व्यक्तिले दर्खास्त दिन आह्वान गरेको हो ।

जथाभावी रूपमा मदिरा विक्रीवितरण कार्यले समाजमा आपराधिक घटनाहरू बढेको भन्दै लागूऔषध निषेध मदिरा तथा सुर्तिजन्य पदार्थको नियन्त्रणसम्बन्धी निर्देशिका २०७७ को दफा १६ एवं नगर कार्यपालिकाको यही भदौ ५ गतेको निर्णयबमोजिम सूचना जारी गरेको चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिइन् । ‘सूचना जारी भएको मितिले १५ दिनभित्र दर्खास्त पेश गरी अनुमति लिन समेत इच्छुक व्यक्तिलाई नगरपालिकाले सूचित गरेको हो ।’

मदिरा विक्रीवितरण गर्दा नगरपालिकाबाट जुन उद्देश्यका लागि अनुमति लिएको हो सोहीबमोजिम बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र विक्रीवितरण गर्नुपर्ने सूचनामा उल्लेख छ । नगरभित्र निश्चित क्षेत्र तोकी उक्त स्थानमा मात्र मदिरा विक्रीवितरण गर्नुपर्ने, २१ वर्ष भन्दा मुनिका व्यक्तिहरूले मदिराको कारोबार गर्न नपाउने, इजाजात प्राप्तवालाले मदिराको बिर्काेमा अन्तःशुल्क स्टिकर टाँसेको हुनुपर्नेलगायत मापदण्ड सूचनामा उल्लेख छ ।

विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थल, पुस्तकालय र विमानस्थल क्षेत्रबाट ५०० मिटरको दूरीमा मात्रै मदिरा विक्रीवितरण गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ । सूचनामा ‘जड्याहा’ कार्ड प्राप्त व्यक्तिहरूले साँझ ५ बजेदेखि ७ बजेसम्म मात्रै नगरपालिकाले तोकेको स्थान र परिमाणमा मात्र मदिरा सेवन गर्न पाउने पनि उल्लेख गरिएको छ ।

मदिरा विक्रीवितरणसम्बन्धी अनुमति लिन चाहने व्यक्तिले रू. १ लाख धरौटी नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नुपर्ने पनि सूचनामार्फत जानकारी
गराइएको छ ।

प्राप्त आवेदनउपर नगरस्तरीय सामाजिक रूपान्तरण तथा सुधार समितिमा छानविन हुने छन् । मापदण्ड अनुसारका बुँदाहरू पालन गर्न नसक्ने अवस्था आएमा उक्त धरौटीबापतको रकम फिर्ता गरिने सूचनामा उल्लेख छ । साथै मदिराका कारण पीडित व्यक्तिहरूले नगरपालिकामा मौखिक वा लिखित उजुरी दिएमा पीडीतहरूलाई प्राथामिकतामा राखी सुनुवाई गरिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)