ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ पर्यटकीय गन्तव्य : ठूली दहको ठूलै आकर्षण

२०७७ भदौ, २२  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ साँखस्थित ठूली दह पछिल्लो समय आन्तरिक पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम नजिकै पर्यटकीय क्षेत्रका रूपमा रहेको ठूली दहमा आजभोलि आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् ।

मध्यपहाडी लोकमार्गबाट समेत नजिकै जंगलको बीचमा अवस्थित ठूली दह प्राकृतिक सौन्दर्यका कारण आकर्षण बढ्दै गएको हो । ठूली दह वरपर अन्य साना–ठूला तालहरू, आकर्षक घना जंगल, विभिन्न प्रजातीका चराचुरुङ्गी समेत हेर्न पाइन्छ ।

वर्षाको समयमा ठूली दहमा पानी जम्मा हुने भएकाले पनि अवलोकनका लागि त्यहाँ जानेको संख्या धेरै हुने गर्दछ । साँखमा ठूली दहसँगै साँख दह, छिप्री दह, सानी दह, खारा दह, बैरी दह र रिन दह पनि छन् ।

विगतका वर्षमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको ठूली दहमा यो वर्ष भने हजारौं आन्तरिक पर्यटकले अवलोकन गरेको रुकुम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष टेकबहादुर पुनले बताए । जंगलको बीचमा ठूलो समथर भागमा रहेको दह निकै आकर्षक रहेको पूर्वअध्यक्ष पुनको भनाइ छ । ठूली दह पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गउको उनले बताए ।

वडामा रहेका दहहरू पर्यटकीय तथा धार्मिक हिसाबले महŒवपूर्ण भए पनि बजेट अभावका कारण प्रचारप्रसार गर्न भने नसकिएको वडाध्यक्ष हिमबहादुर पाण्डेले बताए । ठूली, छिप्री र सानी दह एक अर्कासँग जोडिएका छन् । सानी दहको छेउ र ठूली दह माथिको लेकमा हरेक मंसिरे र फागुपूर्णिमाको दिन पूजाआजा समेत गर्ने गरिएको उनको भनाइ रहेको छ ।

साथै उक्त क्षेत्रमा सानीभेरीको पानी ल्याएर कृत्रिम जलाशय बनाउने र त्यसले तालको बाहै्रमास शोभा बढाउनका साथै आसपासमा विद्युत् र सिँचाइ गर्ने योजना रहेको वडाध्यक्ष पाण्डेले बताए । साथै मुसिकोट नगरपालिकाले नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि काम गर्ने बताएको छ । नगरपालिकाले यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा ठूली दहको प्रवद्र्धन र विकास गर्ने कुरालाई पनि समेटेको छ ।

त्यसका लागि धेरै ठूलो रकमको योजना सर्भे भएको छ । त्यसलाई कार्यान्वयनका लागि पहल भइरहेको अध्यक्ष पाण्डेले जानकारी दिए । ठूली, छिप्री र सानी दहमा मध्यपहाडी लोकमार्गबाट एक घण्टा उकालो पैदल हिँडेपछि पुगिन्छ भने बैरी र रिन दहनजिकै रहेका छन् । त्यस्तै वडा नम्बर ४ मा रहेको मुसिकोट दरबार क्षेत्र पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)