ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा २० करोड लगानीमा बायो ग्यास प्लान्ट बन्दै

२०७७ भदौ, २८  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको घोराहीमा रू. २० करोड लगानीमा बायोग्यास प्लान्ट निर्माणाधीन रहेको छ । घोराही उपमहानगरपालिकाको सेनेटरी ल्याण्डफिल साइटको झण्डै ३ बिगाहा क्षेत्रफलमा निर्माणाधीन उक्त ग्यास प्लान्ट सम्पन्न हुने चरणमा रहेको छ । घोराही उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहोरबाट ग्यास उत्पादनका लागि निर्माण शुरू गरिएको ग्यास प्लान्टको भौतिक पूर्वाधारको काम करीब सकिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । ‘ग्यास प्लान्टको भौतिक पूर्वाधारको काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब आवश्यक प्राविधिक सामग्री आएमा ग्यास उत्पादनको काम पनि शुरू गर्छौं ।’ कोरोना महामारीका कारण भारतबाट मेशिनरी सामग्री नआएकाले प्राविधिक काम अघि बढाउन नसकिएको कम्पनीले बताएको छ । ती सामान आउनासाथ ग्यास उत्पादनको प्राविधिक काम शुरू हुने बताइएको छ । लकडाउन हटेपछि प्राविधिक सामग्री भारतबाट आउने र कात्तिकसम्ममा ग्यास उत्पादन शुरू गर्ने लक्ष्य राखिए पनि सम्भव नभएको प्लान्ट म्यानेजर श्रेष्ठले बताए । ‘पहिलो कुरा त सामान कहिले आउने भन्ने टुंगो लागेको छैन,’ उनले भने, ‘आए पनि समय कात्तिकसम्ममा ग्यास उत्पादन सम्भव छैन ।’

सामान नआउँदा अहिले काम नै बन्द छ । मेकानिकल सामान जडान गर्नुभन्दा अघि गर्नुपर्ने काम सबै सम्पन्न भएको र बाँकी काम सामान जडान गरेपछि मात्र हुने उनको भनाइ छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल ऊर्जा विकास कम्पनी प्रालिले प्लान्ट निर्माण गरेको हो । २०७५ मंसिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको थियो । निर्माणको म्याद १ वर्षको भए पनि काम सम्पन्न हुन नसकेकाले चैत महीनासम्मका लागि म्याद थप गरिएको थियो । तर कोरोनाको कारण उक्त समयसीमामा पनि काम नसकिएपछि पुनः २०७७ कात्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।

प्लान्ट सञ्चालनमा आएपछि दैनिक ७० देखि ८० सिलिन्डर ग्यास उत्पादन हुनेछ भने २० टन कम्पोष्ट मल उत्पादन हुनेछ, जसका लागि नेपाल ऊर्जा विकास कम्पनीले सम्झौता गरेको छ । सम्झौता अनुसार २० वर्षसम्म कम्पनीले आफै ग्यास उत्पादन गरेर विक्री गर्नेछ भने आम्दानीको ५ प्रतिशत घोराही उपमहानगरपालिकालाई दिनुपर्नेछ । २० वर्षपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । ग्यास प्लान्टमा नेपाल ऊर्जा विकास कम्पनीको ६० प्रतिशत र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४० प्रतिशत लगानी छ । घोराही उपमहानगरपालिकामा दैनिक २३ देखि २४ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ, जसमध्ये ७० प्रतिशत गल्ने प्रकृतिको हुन्छ । फोहोरबाट ग्यास निकाल्ने भएपछि यहाँको फोहोर व्यवस्थापनमा सहज हुनुका साथै आय समेत बढ्ने घोराही उपमहानगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Sushil

[Sep 13, 2020 02:46am]

well kept same must be implement in other municipality too



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)