रौतहट । रौतहटको गढिमाई नगरपालिका र सर्लाहीको धनकौल गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज बनाउन वैकल्पिक सडक निर्माण थालिएको छ । दुई जिल्लाको सिमाना पर्ने बागमती नदीमा करीब १ वर्षअघि नै पुल निर्माण भए पनि सडक अभावका कारण सञ्चालन हुन सकेको थिए । हाल गढिमाई नगरपालिकाको पहलमा सडक निर्माण अघि बढाइएको हो ।
सडक निर्माण शुरू भए पनि लक्षित क्षेत्रका स्थानीय बासिन्दा उत्साहित भएका छन् । वर्षात्को समयमा सडक अभावका कारण साइकल र मोटरसाइकल आवतजावत गर्न पनि निकै समस्या हुने गरेको उनीहरू बताउँछन् । पुलको पूर्वमा सर्लाही पर्ने भए पनि नागरिकको सहजताका लागि सो क्षेत्रमा समेत गढिमाई नगरपालिकाले नै सडक निर्माण गरेको बताइएको छ ।
यसअघि नै नगरपालिकाले पुलसम्म पुग्ने सडक निर्माण गरिसकेको थियो । यद्यपि पूर्वतर्फ सडक नहुँदा आवतजावतमा समस्या हुँदै आएको थियो ।
सर्लाहीको धनकौल गाउँपालिकासँग समन्वय गरेर सडक निर्माण गरिएको गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले बताए । सो सडक निर्माणका लागि करीब १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । धर्मपुर– महिनाथपुरको बीचमा सडक निर्माण भइसकेकाले सञ्चालनमा ल्याउन करीब एक हप्ता लाग्ने उनको भनाइ छ । संघीय तथा प्रदेश सरकारले सडक निर्माणमा चासो नदिएपछि नगरपालिको पहलमा शुरू गरेको नगर प्रमुख श्यामप्रसाद यादवले बताए । बागमती नदीको पूर्वतिर धनकौल गाउँपालिकाको महिनाथपुर र पश्चिमतिर गढिमाई नगरपालिकाको धर्मपुर गाउँ पर्छ ।