रौतहट । उखु उत्पादक संघ रौतहटले बन्द रहेको श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याउन माग गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
मिल सञ्चालकहरूले छलफलबिनै एकाएक मिल बन्द गरेपछि उखु कृषकसँगले पुनः सञ्चालन गर्ने मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।
मागको सुनुवाइ नभए असोज १० बाट चरणबद्ध रुपमा आन्दोलन गर्ने संघले जनाएको छ । उखु उत्पादक संघ रौतहटका अनुसार प्रमुख तथा सहायक राजमार्ग बन्द गर्नेसम्मका विरोध कार्यक्रम तय भएको छ ।
मिल बन्द भएपछि त्यहाँ कार्यरत कामदार परिवारको बिचल्ली हुनुका साथै पाउनुपर्ने भुक्तानी रकमसमेत भुक्तानी गरेको छैन ।
मिल सञ्चालक र उखु किसानबीच भएको सहमतिअनुसार गत चैत मसान्तसम्म दिनुपर्ने भुक्तानी अझै बाँकी रहेको र श्रमिक मजदुरको उपदान, क्षतिपूर्ति तथा सञ्चयकोषसमेत हालसम्म उपलब्ध नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उखु कृषकहरूले मिलले दिनुपर्ने ४१ करोड रुपैयाँ तीन दिनभित्र पाउनुपर्ने, उपदान, क्षतिपूर्ति तथा सञ्चयकोष रकम उपलब्ध गराउनुपर्ने एवं उखु किसान, उद्योगपति र नेपाल सरकारको समन्वयमा मिल पुनः सञ्चालनमा ल्याउनुपर्ने उखु उत्पादक संघ रौतहटको माग छ ।