यस वर्षभित्र सीबीआईएल क्यापिटलका थप दुई योजना सञ्चालनमा आउँदै छन् । मर्चेण्ट बैंकिङको क्षेत्रमा छोटो समयमै आफूलाई स्थापित गराउन सफल सीबीआईएल क्यापिटलका दुई योजनामध्ये पहिलो योजनाले यो वर्ष उच्च लाभांश वितरण गर्ने तयारी गरेको छ । दोस्रो योजनाले पनि पहिलो वर्षमै दोहोरो अंकमा लाभांश दिन लागेको छ । क्यापिटलले इन्भेष्टमेण्ट बैंकिङ अन्तर्गत सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ सञ्चालन गरिरहेको छ । यो वर्ष पहिलो योजना सिटिजन्स म्युचुअल फण्ड १ ले १५ प्रतिशत र दोस्रो योजना सिटिजन्स म्युचुअल फण्ड २ ले १० प्रतिशत प्रतिफल दिने तयारी गरेको हो । यसै वर्षभित्र एउटा खुलामुखी र अर्को बन्दमुखी योजना सञ्चालनको तयारी गरेको कम्पनीको वर्तमान अवस्था, आगामी योजना लगायत विषयमा प्रमुख कार्यकारी अधिकृत नवराज गिरीसँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानीको सार :
सीबीआईएल क्यापिटलबाट आम सर्वसाधारणले के कस्ता सेवा सुविधा पाउँछन् ?
हाम्रो क्यापिटलका दुईओटा कार्यक्षेत्र छन् । एउटा मर्चेण्ट बैंकिङ र अर्को इन्भेष्टमेण्ट बैंकिङ । मर्चेण्ट बैंकिङ अन्तर्गत रहेर हामी आईपीओ, एफपीओ र हकप्रद शेयर विक्री प्रबन्धकको रूपमा काम गर्छौं । कम्पनीहरूको शेयर व्यवस्थापनका लागि सम्पूर्ण काम शेयर रजिष्ट्रारको माध्यमबाट गर्छौं । त्यस्तै डीपी सेवा, अन्डरराइटिङ लगायत सेवा पनि दिइरहेका छौं । इन्भेष्टमेण्ट बैंकिङतर्फ म्युचुअल फण्डका योजनाहरू सञ्चालन, पोर्टफोलियो म्यानेजमेण्ट सेवा र संस्थागत परामर्श सेवा पनि हामीले दिइरहेका छौं ।
कोरोना संक्रमणका बीच सीबीआईएल क्यापिटलले आफ्नो सेवालाई कसरी निरन्तरता दिएको छ ?
कोरोनाले गर्दा हाम्रो सेवा प्रवाहमा केही प्रभाव पक्कै परेको छ । तर अहिले धितोपत्र बजार प्रविधिमैत्री बनेको र हाम्रो सेवा सुविधा पनि धितोपत्र बजारसँग सम्बन्धित भएकाले काम चलिरहेकै छ । ग्राहकहरू क्यापिटल नै धाउनुपर्ने समस्या भने छैन् । हाम्रो मुख्य व्यवसाय नै शेयर बजारसँग सम्बन्धित छ । हामीसँग सम्बन्धित संस्थाहरू सीडीएससी, नेप्से पूर्ण प्रविधिमैत्री भएकाले कोरोनाले घरभित्रै ग्राहक सीमित हुँदा पनि सेवा भने निरन्तर चलिरहेको छ ।
कोरोना संक्रमणका कारण देशभरका सबै क्षेत्र प्रभावित बनिरहँदा कम्पनीको व्यवसायमा कस्तो असर परिरहेको छ ?
व्यवसाय कुनै मानिसको मनस्थितिसँग सम्बन्धित विषय हो । कुनै व्यवसायमा विगतका तथ्यांकहरूलाई हेरेर अहिले लगानी गर्दा भविष्यमा के हुन्छ भन्ने अन्दाज गर्ने हो । कोभिडको असर ६ महीनाभन्दा बढी परिसकेको छ । अहिले संक्रमण झन् बढ्दै गएको छ । त्यसले गर्दा आगामी दिनमा यसको असर कस्तो होला भन्ने कल्पना समेत गर्न सकिने अवस्था छैन । अहिले मानिसहरू लगानीका लागि ‘पर्ख र हेर’को अवस्थामा छन् ।
यससँगै पछिल्लो समय सार्वजनिक निष्कासनका लागि स्वीकृतिमा ढिलाइ हुँदा विक्री प्रबन्धकको काममा पनि असर परेको छ । अर्को, इन्भेष्टमेण्ट म्यानेजमेण्टमा पोर्टफोलियो म्यानेजमेण्टमा अन्य व्यवसाय गरिरहेका र अहिले फुर्सदमा भएकाहरूले शेयर बजारमा लगानी गर्ने क्रम बढाएकाले यतापट्टिको काम भने बढेको छ । म्युचुअल फण्डतर्फ पनि राम्रै भइरहको छ । अहिले शेयर बजार माथि गइरहेको र कारोबार पनि राम्रो भएको अवस्थामा हाम्रो इन्भेष्टमेण्ट बैंकिङमा आजको दिनसम्म त्यति धेरै असर भने महसूस भएको छैन ।
सीबीआईएल क्यापिटल अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले पहिलो वर्षमै १० प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड १ ले १५ प्रतिशत लाभांश दिन सक्ने क्षमता कसरी बन्यो ?
हामी विगत चार वर्षदेखि मर्चेण्ट बैंकरको रूपमा सेवा दिइरहेका छौं । अहिले दुईओटा सामूहिक लगानी कोष आयोजना सञ्चालन गरिरहेका छौं । पहिलो आयोजनाले दुई वर्ष र दोस्रो आयोजनाले एक वर्ष पूरा गरेको छ । पछिल्लो समयमा म्युचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण कम भएको हो कि भन्ने महसूस हामीलाई भएको थियो । त्यसको कारण भनेको विगत तीन–चार वर्ष बजार घट्दो क्रममा थियो । अर्को कारण भनेको हामीभन्दा अग्रज जो बजारमा पहिलादेखि नै स्थापित हुनुहुन्थ्यो, उहाँहरूले ल्याउनुभएको म्यचुअल फण्डले दुई–तीन वर्षदेखि विभिन्न कारणले प्रतिफल दिन नसकेको अवस्था थियो । हामी त्यही समयमा यो क्षेत्रमा प्रवेश गर्यौं, जुन हाम्रा लागि उत्तम समय पनि बन्यो । हामी शुरूदेखि नै आफू मात्र माथि उठेर हुँदैन, समग्र म्युचुअल फण्डलाई नै माथि उठाउनुपर्छ भन्ने रणनीतिका साथ अघि बढ्यौं । हामी इकाइधनीहरूको सम्पत्तिको सही व्यवस्थापन गरी धेरैभन्दा धेरै प्रतिफल दिनुपर्छ भन्ने मान्यताका साथ अघि बढ्यौं । हाम्रो योजना भनेकै बैंक तथा वित्तीय संस्थाले दिने ब्याजभन्दा हाम्रो प्रतिफल बढी हुनुपर्छ भन्ने थियो । सोही योजना बमोजिम हामीले शेयरमा लगानी गर्दा पनि कम्पनीको आधारभूत तथा प्राविधिक पक्ष विश्लेषण गर्यौं । इकाइधनीहरूको मालिक होइन, विश्वासको पात्र बनेर इमानदारीका साथ विशेष दायित्व बोध गरेर काम गरेकाले उच्च प्रतिफल दिन सफल भयौं । यो वर्षमात्र होइन, हामी आगामी दिनमा यसभन्दा पनि राम्रो प्रतिफल दिने प्रयास गर्नेछौं ।
असोज १५ गते प्रतिफलका लागि बुक क्लोज गरिएको छ । यो प्रतिफल इकाइधनीले कहिलेसम्म पाउँछन् ?
हाम्रो लक्ष्य भनेको दशैंअघि नै दशैं खर्चस्वरूप उपहार दिने रहेको छ । बुक क्लोज भएपछि शेयर बुक लागतको विवरण प्राप्त गर्न दुई देखि तीन दिन लाग्छ । हामी १९ या २० गतेदेखि लाभांश वितरण गर्न शुरू गर्छौं ।
म्युचुअल फण्डको इकाइमा लगानी गर्न कत्तिको सुरक्षित ठान्नुहुन्छ ?
म्युचुअल फण्डले इकाइधनीबाट संकलन गरेको एकै क्षेत्रमा लगानी नगरेर विभिन्न क्षेत्रमा लगानी गर्छ । लगानी गर्दा हामी ती क्षेत्रहरूको सूक्ष्म अध्ययन गर्छौं, जसले गर्दा जोखिम निराकरण भई घाटा हुने सम्भावना नै रहँदैन । हाम्रो प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० रुपैयाँभन्दा माथि नै हुन्छ । यति भनिरहँदा म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हँुदैन भन्ने होइन । तर हामीले जहिले पनि बैंकहरूले दिने मुद्दती निक्षेपको ब्याजभन्दा दोब्बर प्रतिफल दिने योजना बनाएकाले प्रतिफलका हिसाबले लगानी सुरक्षित छ । जहिले पनि जोखिम र प्रतिफलको सीधा सम्बन्ध हुन्छ । ‘हाई रिक्स हाई रिटर्न’ भन्ने सामान्य सिद्धान्त म्यचुअल फण्डमा लागू हुन्छ जस्तो लाग्छ ।
बुक बिल्डिङ विधिबाट निष्कासित धितोपत्र खरीद गर्न योग्य संस्थापकको रूपमा बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । यसका लागि कम्पनीले निवेदन दिएको छ कि छैन ?
बुक बिल्डिङ नेपालका लागि नयाँ विधि हो । नेपालमा यो विधि प्रयोग हुन बाँकी नै छ । यो एकदमै राम्रो विधि हो । यसबाट निष्कासित भएको शेयरमा अन्डरराइटरको जोखिम धेरै कम हुन्छ । निष्कासन कम्पनी पनि आईपीओ विक्री हुनेमा पहिले नै ढुक्क हुने अवस्था हुन्छ । हामी पनि यस विधिमा संस्थागत रूपमा सहभागी हुन इच्छुक छौं । यसका लागि हाम्रो तर्फबाट काम भइरहेको छ । चाँडै नै निवेदन प्रक्रियामा जानेछौं ।
म्युचुअल फण्डहरूले मार्केट मेकरको रूपमा काम गर्न सक्ने धारणा सम्बन्धित निकायको छ । तर त्यो अनुसार बजारलाई सन्तुलनमा राख्न म्यचुअल फण्डहरूले काम नगरेको भन्छन् नि ?
मर्चेण्ट बैंकहरूले आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । मार्केट मेकरको भूमिका निर्वाह गर्ने सन्दर्भमा अहिले बजारको कुल पूँजीकरण २० खर्बमाथि छ । हाल भएका मर्चेण्ट बैंकरहरूको पूँजीले २० खर्बको बजारलाई सन्तुलनमा राख्न सक्लान् ? हामी सबै मर्चेण्ट बैंकरको पूँजी हेर्ने हो भने कुल बजार पूँजीकरणको १ प्रतिशतभन्दा पनि कम छ । अहिले बजारमा ३ देखि ४ अर्बको कारोबार भइरहेको छ । यो अवस्थामा म्युचुअल फण्डहरूले मात्र कारोबारलाई सन्तुलनमा राख्न सम्भव छैन । हामीकहाँ शेयर बजार बढ्दा हुत्तिएर किन्न जाने र घट्दा आत्तिएर बेच्ने प्रवृत्ति छ । तर हामीले अहिले बजारलाई सन्तुलनमा राख्न घट्दा किन्ने र बढ्दा बेच्ने काम गरिरहेका छौं ।
मर्चेण्ट बैंकरहरूको कामको दायरा नेपालको धितोपत्र बजारका लागि पर्याप्त छ ?
अहिले नेपालको बजारमा मर्चेण्ट बैंकरको संख्या पनि बढी भयो । हाम्रो काम सीमित छ । अहिले हामी मर्चेण्ट बैंकरहरूबीचमै व्यवसाय खोसाखोसको अवस्था छ । हाल ३५ ओटा मर्चेण्ट बैंकरहरू छन् । यो संख्या ५ देखि १० ओटामा झार्नुपर्छ जस्तो लाग्छ । बैंक तथा वित्तीय संस्था मर्जरमा गए जसरी मर्चेण्ट बैंकरहरूले पनि यो प्रक्रिया अघि बढाइसकेका छन् । विदेशतिर इन्भेष्टमेण्ट बैंकिङको स्कोप धेरै छ । विदेशतिर बैंकमा पैसा राख्दा धेरै ब्याजदर छैन । तर म्यचुअल फण्डमा गरेको लगानीको प्रतिफल बढी भएकाले विदेशतिर यसको स्कोप बढी भएको देखिन्छ । नेपालमा पनि विस्तारै इन्भेष्टमेण्ट बैंकिङको स्कोप बढ्ने देखिन्छ । अहिले बोर्डले संस्थागत परामर्शका लागि लाइसेन्स दिएको छ । इक्विटी क्यापिटल, भेञ्चर क्यापिटल, हेज फण्ड लगायत कमोडिटिज मार्केट पनि विस्तारै शुरू गर्ने तयारी बोर्डले गरेको छ । अहिले मर्चेण्ट बैंकरको कामको दायरा संकुचन भए पनि विस्तारै फराकिलो हुँदै छ ।
सीबीआईएल क्यापिटलले धितोपत्र बजारको सहजकर्ताको रूपमा काम गरिरहँदा भविष्यका लागि केही नयाँ योजना बनाएको छ ?
सीबीआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । यदि कोभिड नभएको भए नेपाल राष्ट्र बैंकले मर्जरलाई नै प्राथमिकता दिई काम गर्थ्यो । अहिले दोस्रो प्राथमिकतामा रहेको मर्जरको विषयमा सिटिजन्स बैंकले जुन बाटो रोज्छ, हामी पनि त्यही अनुरूप जानुपर्ने हुन्छ । यससँगै हामीले यही वर्ष २ सामूहिक योजनाहरू थप गर्ने योजना बनाएका छौं । यसमा एउटा खुलामुखी योजना हुनेछ भने अर्को बन्दमुखी । अर्को भनेको कर्पोरेट एड्भाइजरीमा फुल फेजमा जाने योजना छ ।
Almost mf haruko performance ramro dekhiyo.fiscal year ko suru mai dherthor munafa badera laganikartako mon jitna safal rahe.