रुकुम । कोरोना महामारीका कारण गत चैतको दोस्रो सातादेखि बन्द भएका विद्यालय खुल्न नसकेपछि रुकुम पश्चिमका केही स्थानीय तहको प्रयासमा टोल कक्षा सञ्चालन गर्न थालिएको छ । इन्टरनेटको सुलभ पहुँच नहुँदा अनलाइन माध्यमबाट पठनपाठन सम्भव नभएकाले शिक्षकहरूले टोल–टोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरू गरेका हुन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका–६ स्थित जनचेतना आधारभूत विद्यालय व्यवस्थापन समितिको पहलमा टोल–टोलमा पुगेर विद्यार्थीलाई शिक्षा प्रदान गर्न थालिएको शिक्षिका निर्मला ओलीले बताइन् । उनले भनिन्, ‘कोभिड–१९ का कारण लामो समयसम्म विद्यार्थीको पढाइ अवरुद्ध भएपछि टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।’
विद्यार्थी विद्यालय आउन नसक्ने अवस्थामा आफ्ना बालबालिकालाई कसरी सिकाइमा केन्द्रित गर्न सकिन्छ भनेर अभिभावकलाई परामर्श दिइएको विद्यालय व्यवस्थापन समिति सदस्य जानी दर्लामीले बताइन् । बालबालिकाको सिकाइ सुधारका लागि शुरू गरिएको टोल शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको उनको भनाइ छ । स्थानीय मिना वली भन्छिन्, ‘पहिले बालबालिक खेल्ने मात्रै गर्थे, अहिले अभिभावकलाई समेत तालीम तथा सिकाइ व्यवस्थापन कक्षा सञ्चालन गरेपछि विद्यार्थीले पढाइमा ध्यान दिन थालेका छन् ।’
विद्यालयका प्रधानाध्यापक लालबहादुर विष्टले शिक्षक शिक्षिकाले टोलमै पुगेर घरदैलो शिक्षा दिने गरेको बताए । ‘विद्यार्थीलाई गृहकार्य दिने, चेकजाँच गर्ने र अभिभावकलाई बालबालिकाको सिकाइ सम्बन्धी तालीम दिने गरिएको छ,’ उनले भने । यस्तै त्रिवेणी गाउँपालिका–७ स्थित शारदा नमूना आधारभूत विद्यालयले सञ्चालन गरेको टोल शिक्षा कार्यक्रम पनि प्रभावकारी देखिएको छ । विद्यालयका प्रधानाध्यापक खीमबहादुर पुनले विद्यालयले आफ्नै सृजनशीलतामा टोल विभाजन गरेर टोल शिक्षा प्रदान गरेको बताए ।
विद्यालयको सेवा क्षेत्रभित्र रहेका पारिखा, तलिगाउँ, रजैपाले, दाङवाङ, स्याला लगायत बस्ती तथा टोलमा गएर टोल शिक्षा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिंह पुनले बताए । ‘विद्यालयले पहिलो चरणमा स्वास्थ्य सचेतना फैलाउने, दोस्रो चरणमा अभिभावक र विद्यार्थीलाई भेटेर शैक्षिक गतिविधि सञ्चालन गर्ने गरेको छ,’ उनले भने ।
जिल्लाका केही विद्यालयले आफ्नै पहलमा टोल शिक्षा शुरू गरे पनि ५३ हजारभन्दा बढी विद्यार्थी अहिले पढाइबाट वञ्चित भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका समन्वय प्रमुख ताराप्रसाद पुनले बताए । जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दिरा बीएमले कोभिडको बेला कसरी विद्यालय सञ्चालन गर्ने भन्ने स्पष्ट नीति नभएको र जिल्ला प्रविधियुक्त नभएकाले अनलाइन कक्षा सञ्चालनमा समस्या भएको बताइन् ।