ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण भएन राप्ती लोकमार्गको साँखखोला पुल

२०७७ कार्तिक, २३  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ र वडा नं १२ को बैरागीठाँटी जोड्न साँखखोलामा पक्की पुल निर्माण अघि बढ्न सकेको छैन । राप्ती लोकमार्ग अन्तर्गत पर्ने उक्त पुल निर्माण प्रक्रिया रोकिएको ७ महीना बित्दा समेत ठेकेदार कम्पनीले काम शुरू गरेको छैन । त्यसको विकल्पको रूपमा रहेको बेलीब्रीज समेत जीर्ण बनेपछि जिल्ला भित्रिने सयौं सवारीसाधन जोखिमपूर्ण रूपमा सञ्चालन हुँदै आएका छन् ।

जीर्ण बनेको बेलीब्रीज राप्ती लोकमार्गको ट्र्याक खोल्ने क्रममा २०६२ सालमा निर्माण गरिएको थियो । बेलीब्रीजमा जडान गरिएका फलामका पाता टुक्रिएर झरेका छन् भने केही पाता उप्किएका छन् । बेलीब्रीज जीर्ण बनेपछि खोलामा पक्की पुल निर्माण थालिएको थियो ।

खोला वारपार गर्ने अर्को विकल्प नभएकाले जोखिम लिएरै बेलीब्रीजबाट सवारीसाधन चल्ने गरेको यातायात व्यवसायी वेदराम पुनले बताए । ‘कुन दिन गाडी खोलामा खस्ने हो टुंगो छैन,’ उनले भने । रुकुम पश्चिम र रुकुम पूर्वबाट दाङ, नेपालगञ्ज, बुटबल र काठमाडौं जाने अर्को सडक नहुँदा जोखिम उठाउनु परेको गुनासो उनले गरे ।

भएको पुल जीर्ण बन्दा र बन्न लागेको पुल अलपत्र हुँदा यात्रा जोखिमपूर्ण रूपमा यात्रा गर्न आफूहरू बाध्य भएको स्थानीय यात्रु लोकबहादुर केसीले बताए । ‘पुल निर्माण र बेलीब्रीजको अवस्थाबारे सबैतिर जानकारी गराउँदा पनि कुनै पहल भएको छैन,’ उनले भने ।

जीर्ण बनिसकेको बेलीब्रीज विस्थापित गर्नेगरी सूर्य लाइट जेभीले पुल निर्माणको जिम्मा लिएको छ । २०७७ साउनमै निर्माण सक्ने सम्झौता गरेको ठेकेदार कम्पनीले पुलको आधा काम पनि गरेको छैन । २ वर्षअघि ठेकेदार कम्पनीले सडक विभागको वैदेशिक महाशाखा अन्तर्गतको आरएसडीपी परियोजनासँग पुल निर्माणको सम्झौता गरेको थियो । विश्व बैंकको ८ करोड रुपैयाँ सहयोगमा सल्यानको पटारेसहित साँखखोलामा पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणमा ढिलाइ भएको र बेलीब्रीज पनि मर्मत नभएको गुनासो बढेपछि सर्वपक्षीय बैठक गरेर आवश्यक निर्णय लिन लागिएको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए । नगरपालिकाको प्राविधिक शाखाका अनुसार अहिलेसम्म पुल निर्माणको ४० प्रतिशत काम मात्र पूरा भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)