रुकुम । रुकुमका चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल निर्माण गरेका छन् । आठबीसकोट र चौरजहारी नगरपालिकासहित सानीभेरी र त्रिवेणी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
सबैभन्दा पहिले आठबीसकोट नगरपालिकाले २०७५ असोज १२ गतेदेखि नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । वडा नं ९ को राडीस्थित स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको हो । २५ शøयाको अस्पताल बनेपछि स्थानीयले ३ वर्षदेखि चिकित्सकीय सेवा पाइरहेको नगर उपप्रमुख गीता नेपालीले बताइन् ।
अहिले आठबीसकोट नगर अस्पतालमा दैनिक १०० जनासम्म बिरामीको उपचार भइरहेको छ । दैनिक १० जना बिरामी इमर्जेन्सीमा भर्ना हुने गरेको अस्पताल प्रमुख मणिराज शाहले बताए । उनका अनुसार अस्पतालमा डिजिटल एक्स–रे सेवाका एक आईसीयू, चारओटा डिजिटल मोनिटर सहितका शøया छन् । साथै फार्मेसी, ल्याब र प्रसूति सेवा पनि नियमित प्रवाह भइरहेको उपप्रमुख नेपालीले बताइन् ।
सानीभेरी गाउँपालिकाले २०७६ फागुन १ गतेदेखि अस्पताल सञ्चालनमा ल्याएको थियो । ७ नम्बर वडाको छोटेबगरमा चिकित्सकसहित १८ स्वास्थ्यकर्मीले चौबीसै घण्टा उपचार गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले बताए । उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी आउँछन् । अस्पतालको संरचनाअनुसार अहिले १० शय्या उपलब्ध छ ।
चौरजहारी नगरपालिकाले पनि शहीद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नं १० को शहीद स्मृति मैदानमा एक साताअघि ५ शøयाको अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा चिकित्सकसहित २२ स्वास्थ्यकर्मीले उपचार सेवा प्रदान गर्दै आएका छन् । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवाका साथै प्रयोगशाला, डिजिटल एक्सरे, फार्मेसी, ईसीजीलगायत सेवा शुरू गरेको नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार अस्पताल सञ्चालन कार्यविधिअनुसार ५ वडाका बिरामीका लागि चिकित्सकीय सेवा प्रवाह भइरहेको छ । वडा नं १०, ११, १२, १३ र १४ र सल्यानको दार्मा गाउँपालिकाका केही भेगका सर्वसाधारणले अस्पतालबाट सेवा लिन थालेको उनले जानकारी दिए ।
त्रिवेणी गाउँपालिकाले ग्राम अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नं ३ का खारानेटामा अस्पताल सञ्चालन भइरहेको हो । नयाँ भवन बनेपछि चिकित्सकीय सेवासहितको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाले बताएको छ ।