रुकुमपश्चिम । रुकुम पश्चिमका किसानहरू व्यावसायिक अलैंची खेतीमा आकर्षित भएका छन् । कम लगानी र परिश्रमबाट राम्रो आम्दानी हुने भएपछि रुकुमेली किसान व्यावसायिक अलैंची खेतीमा लागेका हुन् ।
धान, मकैजस्ता परम्परागत खेती प्रणालीभन्दा अलैंचीबाट तेब्बर आम्दानी बढी हुने भएपछि एउटै गाउँका ४० घरपरिवारले व्यावसायिक रुपमै यसको खेती गरिरहेका छन् ।
त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ४० घरपरिवार ३ वर्षदेखि व्यावसायिक रुपमा अलैची खेतीमा संलग्न रहेको स्थानीय भीमबहादुर डाँगीले बताए । उनले भने, ‘कम लगानीमा धेरै आम्दानी हुने भएपछि पूरै गाउँ नै अलैंची खेतीमा लागेको हो ।’
स्थानीय मधु पुनका अनुसार कम लगानी र परिश्रमबाट परम्परागत खेती प्रणालीभन्दा अलैंची खेतीबाट मनग्य आम्दानी हुने भएपछि एकै गाउँका ४० घरपरिवारले झन्डै ५० हेक्टर जमिनमा अलैंची खेती सुरु गरेका छन् । खोलाखोल्सा र ओसिलो जग्गामा गरिएको अलैंची खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यो खेतीमा आकर्षण बढ्दै गएको अलैंची कृषक रेशम पुनले बताए ।
उनले भने, ‘खेर गएको जग्गा, खोला–खोल्सामा अलंैची खेती गरेका छौं । पछिल्लो समय अलैंची खेतीबाट एक घरपरिवारले वार्षिक साढे २ लाखभन्दा बढी आम्दानी लिन थालेका छन् ।’
आकाशे पानीको भरमा परम्परागत खेती प्रणाली गहुँ, मकै खेती गर्ने किसानको पछिल्लो समय अलैंची खेतीले जीवनस्तर सुधारेको स्थानीय बताउँछन् ।
‘पहिले धान, गहुँ खेती गर्दा समयमा मलबिउ पाउनै गाह्रो हुन्थ्यो । गरेको खेतीबाट लगानी उठ्दैनथ्यो । अहिले भने राम्रै आम्दानी भएको छ’, स्थानीय पूर्णकला पुनले भनिन् । रुकुमका एक दर्जन गाउँका किसानले समेत अलंैचीको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकाका किसानले व्यावसायिक रुपमा अलैंची खेती गरेर प्रशस्त आम्दानी लिँदै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले जिल्लाको त्रिवेणी गाउँपालिकालाई अलैची पकेट क्षेत्र घोषणा गरी अलंैची प्रवद्र्धन गर्ने लक्ष्य रहेको जानकारी दिएको छ । यहाँ उत्पादित अलैंची देशका विभिन्न सहरका साथै भारतमा समेत निकासी हुने गरेको छ ।