रौतहट । कोरोना महामारी बढ्दै जाँदा एकाएक चर्चामा आएको हो, बेसार । औषधीययुक्त गुण भएको र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै बजारमा बेसारको माग ह्वात्तै बढेको पनि छ ।
माग र मूल्य दुवै पाउन थालेपछि रौतहटका कृषक बेसार खेतीमा आकर्षित भएका छन् । उपयोगविहीन रहेको बाग्मती नदी बगरमा कृषकले बेसार खेती गरेर आम्दानी लिन थालेका हुन् ।
बगरको बलौटे माटोमा उपयुक्त हावापानी पाएपछि बेसार खेती राम्रो हुने कृषकहरू बताउँछन् । बाग्मती नदीको बगरमा वृन्दावन, गढीमाई र माधवनारायण नगरपालिकाका कृषकले बेसार खेती गरेका हुन् ।
नगदे बालीको रूपमा रहेको बेसार खेतीतर्फ गाउँमा अधिंकाशको आकर्षण बढेको गढीमाई नगरपालिका–२ का कामेश्वर सहनीले बताए । ‘डेढ बिघाभन्दा बढी जग्गामा बेसार खेती गरेको छु । खनेर बिक्री गर्दा राम्रो मूल्य पर्ने आशा छ,’ सहनीले भने ।
उत्पादन पनि राम्रो हुने र बजार भाउ पनि राम्रो भएकोले कृषक बेसार खेतीप्रति आकर्षित भएको उनको भनाइ छ ।
यस वर्ष बर्खाको समय औसतभन्दा बढी पानी परेकोले उखु, परवल, सक्खरखण्ड र बदाम खासै नफले पनि बेसार खेती भने औसतभन्दा राम्रो भएको सहनीले सुनाए ।
भारतबाट काँचो बेसार आएन भने नेपालका कृषकले उत्पादन गरेको बेसारले सहजै बजार पाउने स्थानीय कृषकको विश्वास छ ।
बाग्मती नदीको पश्चिम रौतहट तथा पूर्व सर्लाहीका विभिन्न क्षेत्रका कृषकले बगरमा बेसार खेती गर्दै आएका छन् ।