ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वास्थ्य सुरक्षा मापदण्डविनै पठनपाठन शुरू

२०७७ मंसिर, १७  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । नेपाल सरकारले कोभिड–१९ बाट बच्न कम्तीमा २ मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, पटक पटक साबुनपानीले हात धुने, आवश्यकता अनुसार सेनिटाइजर प्रयोग गर्ने लगायत स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड तोकेको छ । यसै मापदण्डमा आधारित रहेर विद्यालय सञ्चालन मापदण्ड जारी गर्दै कात्तिक २० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि रुकुम पश्चिमका विद्यालय पनि खुले । तर सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड भने पूरा गरेको पाइएको छैन । आवश्यक स्रोतसाधन तथा आर्थिक अवस्था कमजोर लगायत कारण देखाउँदै विद्यालयहरूले स्वास्थ्य सुरक्षा मापदण्डविनै पठनपाठन शुरू गरिएको बताएका छन् ।

मुसीकोट नगरपालिकाको खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालले विद्यालयको क्षमताले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्न नसकेपछि सामान्य ढंगले पठनपाठन सुचारु गरिएको बताए । शुरूको हप्तामा विभिन्न फरक फरक समयमा विद्यार्थी उपस्थित गराएर पढाए पनि विद्यार्थीको चाप, शिक्षक दरबन्दी न्यून, भौतिक पूर्वाधारको अभाव कारण विद्यालयमा मापदण्ड पूरा गर्न नसकिएको उनको भनाइ छ । यस्तै त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित युवा जागरण माध्यमिक विद्यालयले पनि स्वास्थ्य सुरक्षाको कुनै पनि मापदण्ड पूरा गरेको छैन । विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार ओलीले भने पर्याप्त कक्षा कोठा नभएको र मास्क, सेनिटाइजर, साबुन लगायत सामग्री किन्न आर्थिक अभावले स्वास्थ्य मापदण्ड पूरा गर्न कठिन भएको बताए ।

यी दुई विद्यालयमा मात्र होइन, रुकुम पश्चिमका ६ ओटै स्थानीय तहका २७९ सामुदायिक विद्यालय र १३ ओटा संस्थागत विद्यालयले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्न सकेका छैनन् ।

त्रिवेणी गाउँपालिकाका स्थानीय भीमबहादुर खड्काले मापदण्ड पालना नगरी विद्यालयमा पठनपाठन शुरू गर्दा ठूलो स्वास्थ्य संकट निम्तिन सक्ने औंल्याए । स्थानीय तहहरूले भने सिकाइ केन्द्र मार्फत सहजीकरण कार्ययोजना निर्माण गरेर पठनपाठन सञ्चालन गरिएको बताएका छन् ।

सबै विद्यार्थी एकैपटक विद्यालयमा उपस्थित हुँदा भीडभाड हुने र कोरोनाको जोखिम उच्च रहने भएकाले पालोपालो गरी विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको मुसीकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताए । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख ताराप्रसाद पुनले विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरे÷नगरेको बारेमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए । कोरोना संकटको बेला विद्यालय सञ्चालन सम्बन्धी कार्यविधिमा स्थानीय सरकारलाई बढी जिम्मेवार बनाइएको उनको भनाइ छ । कोरोना कहरसँगै बन्द भएका विद्यालय सबैभन्दा पहिले चौरजहारी नगरपालिकाले असोज ४ गतेदेखि सञ्चालन गरेको थियो भने सबैभन्दा पछाडि त्रिवेणी गाउँपालिकाका विद्यालय कात्तिक ३ गतेदेखि सञ्चालनमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)