ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मकैको उत्पादन लिन नपाउँदै चन्द्रपुरका कृषक निराश

२०७७ मंसिर, २१  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । निकै दुःखले गरेको मकैखेतीको उत्पादन लिन नपाउँदै रौतहटका कृषक निराश भएका छन् । चन्द्रपुर नगरपालिकाका कृषकले गरेको मकैखेती उम्रनेबित्तिकै गवारो कीराले सखाप पार्न थालेको छ । गवारो कीराले मकैको गुभाबाट खान शुरू गरेर पूरै मकैको बोट नष्ट पार्ने गरेको कृषकहरू बताउँछन् ।

चन्द्रपुर नगरपालिकाका सन्तपुर, वसन्तपुर, नजरपुर र सिन्दुरेघारी क्षेत्रमा गवारो कीराको प्रकोप देखिएको छ । मकै उत्पादनका लागि पकेट मानिएको त्यस क्षेत्रमा व्यावसायिक रूपमा खेती हुँदै आएको छ । यस वर्ष मकै उत्पादनमा निकै ह्रास आउने अनुमान गरिएको सन्तपुरका कृषक खड्क चौलागाईंले बताए । अघिल्ला वर्षहरूमा पनि मकैको घोगामा दाना नलाग्ने जस्ता समस्या देखिएकाले अपेक्षाकृत उत्पादन हुन नसकेको उनको भनाइ छ ।

अधिकांश कृषकले गरेको मकैखेती गवारो कीराले नष्ट गरेको छ । कीटनाशक औषधि तथा विषादी छर्दा पनि नभएको उनीहरू बताँउछन् । चन्द्रपुर नगरपालिका कृषि सेवा केन्द्रका प्रमुख उमेश चौधरीले जैविक प्रकोपबाट बच्न बाली बीमा गराउन कृषकलाई सुझाव दिए । मकैको घोगामा दाना नलाग्ने तथा असिनाले बाली क्षति गर्ने जस्ता समस्या रहेकाले बाली बीमा गराउँदा कृषकलाई फाइदा हुने उनको तर्क छ ।

चन्द्रपुर नगरपालिका वडा नं ८ र ९ मा हालसम्म ६ हेक्टर क्षेत्रफलमा उम्रिन लागेको मकैमा गवारो कीराले क्षति गरेको चन्द्रपुर नगरपालिका–९ का वडाध्यक्ष गोविन्द दुलालले बताए । मकै बालीबाट राम्रो आम्दानी लिने योजनामा रहेका कृषकलाई कीराको प्रकोपले निराश बनाएको उनको भनाइ छ । चन्द्रपुर नगरपालिकामा ९ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये करीब ६ हजार हेक्टरमा नगदे बालीको रूपमा मकैखेती हुने गरेको छ । एक हेक्टरमा औसत ६ मेट्रिकटनसम्म उत्पादन हुने गरेको किसानहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)