ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुल नबन्दा डाइभर्सनबाटै जोखिमपूर्ण यात्रा

२०७७ मंसिर, २२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

रौतहट । रौतहटको गौरस्थित बरहवा  नदीमा पुल निर्माण नहुँदा सर्वसाधारणदेखि सवारीसाधनसम्मलाई आउजाउमा  कठिन भएको छ ।

चन्द्रनिगाहपुर–गौर सडक खण्डअन्तर्गत गौर बसपार्क नजिकै रहेको पुल समयमै बन्न नसक्दा सानादेखि ठूला सवारी साधन डाइभर्सनबाटै जानुपर्ने अवस्था छ ।

डाइभर्सनबाट जोखिमपूर्ण यात्रा गर्दा कष्टकर हुने गरेको चालकहरूको गुनासो छ । खासगरी वर्षायाममा सो सडक हुँदै आवतजावत गर्न मुस्किल रहेको उनीहरूको भनाइ छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले पुल निर्माणका लागि राजदेवी भक्त कन्स्ट्रक्सनसँग ०७४ साल माघमा सम्झौता गरेको हो । सम्झौतानुसार निर्माण कम्पनीले काम थाले पनि निर्माणकै क्रममा गत वर्षको वैशाख महिनामा पुलमा क्षति पुगेको थियो ।

पुलमा क्षति पुगेपछि प्रि–स्ट्रेस प्रविधिबाट बनाउन थालिएको हो । तर, पुल निर्माणकै क्रममा पुनः स्ट्रेस गर्दा बीच भागमा क्षतिग्रस्त हुन पुगेपछि काममा अवरोध भएको छ ।

पुलको पुन नयाँ डिजाइन बनाउन तथा अन्य प्रक्रिया पूरा गर्न समय लागेको र  आगामी दुई सातामा काम अघि बढ्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर नरेश केशरीले बताए । ‘अब नयाँ डिजाइनबाट प्रविधिको प्रयोग गर्दै पुल निर्माण अगाडि बढाउँछौं’, केशरीले भने । करिब ४ करोड ९८ लाखमा राजदेवी भक्त कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणको जिम्मा पाएको राजदेवी भक्त कन्स्ट्रक्सनका सञ्चालक अरविन्द जैसवालले कार्यालयबाट लिखित आदेश आउनेबित्तिकै निर्माण अगाडि बढाइने बताए । प्रविधिमा आएको त्रुटिले आर्थिक क्षतिसमेत बेहोर्नु परे पनि नयाँ सम्झौताअनुसार काम अघि बढाइने उनको भनाइ छ । पुल निर्माणदेखि नै विवाद रहेकाले काममा असहज भएको निर्माण कम्पनीले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)