ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यात सहज नहुँदा अदुवा विक्रीमा समस्या

२०७७ पौष, १४  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । भारत निर्यात सहज नहुँदा सल्यानका किसान सस्तो मुख्यमा अदुवा विक्री गर्न बाध्य छन् । वर्षेनि करोडौंको अदुवा उत्पादन हुने जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन सकेको छैन ।

जिल्लाको शारदा नगरपालिका–१४ ढारखानीका किसान शेरबहादुर गिरीले यस वर्ष प्रतिकेजी ३० रुपैयाँमा अदुवा विक्री गर्नुपरेको गुनासो गरे । गतवर्ष ४० देखि ४३ रुपैयाँ प्रतिकेजीमा अदुवा विक्री गरेकोमा यस वर्ष अदुवा खरीदका लागि बाहिरबाट व्यापारी नआएकाले स्थानीय व्यापारीलाई नै बेचेको उनले बताए ।

जिल्लाको शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी रेसा नभएको बोसे जातको अदुवाका लागि प्रख्यात छ । अन्य बाली लगाउन छोडेर अदुवाखेती गर्दै आएका यहाँका किसान यस वर्ष मूल्य नपाउँदा मर्कामा परेका छन् । माल्नेटा ढारखानीका गाउँका करीब २०० घरपरिवारले अदुवाखेती गर्ने गरेका छन् ।

सल्यानमा करोडौंको अदुवा उत्पादन हुँदै आएको छ । जिल्लाभर करीब २ हजार हेक्टर क्षेफलमा अदुवाखेती गरिन्छ । यस वर्ष ३० हजार मेट्रिकटन अदुवा उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार अहिले जिल्लाभरको तथ्यांक संकलनको काम भइरहेको छ ।
 
विगतका वर्ष जस्तो यस वर्ष भने अदुवाले मूल्य नपाएको उनको भनाइ छ । यहाँ उत्पादित अदुवामध्ये आधाभन्दा बढी जिल्ला बाहिर निकासी हुने गर्दछ । ‘अदुवाको मुख्य बजार भनेकै भारत हो, तर निर्यातमा समस्या हुँदा मूल्य घटेको छ,’ उनले भने । उनका अनुसार जिल्लामा अदुवा पकेट र ब्लक कार्यक्रम पनि सञ्चालन गरिएको छ । जिल्लाका दशओटै स्थानीय तहमा अदुवा उत्पादन हुने भए पनि माल्नेटा, ढारखानी, सिद्धेश्वरी, चाँदे, कोटमौला, दमाचौर, थारमारे लगायत ठाउँमा धेरै मात्रामा अदुवाको खेती गरिन्छ ।

दुई स्थानमा प्रशोधन केन्द्र सञ्चालनको तयारी
जिल्लाका दुई स्थानमा अदुवा प्रशोधन केन्द्र सञ्चालनको तयारी गरिएको छ । किसानको माग र स्थानीय आवश्यकता अनुसार जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ ढोरचौरमा प्रशोधन केन्द्र सञ्चालनका लागि भवन निर्माणाधीन छ । यस्तै शारदा नगरपालिका ६ बरलामा पनि प्रशोधन केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको छ । यसलाई अदुवा भन्दा बेसार प्रशोधन केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)