रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर भवनसहित ९ ओटा वडा कार्यालय भवनको निर्माण थालेको छ । नगरपालिकाको भवन साँघुरो तथा जीर्ण भएपछि भत्काएर नयाँ भवन निर्माण गर्न लागिएको नगर उपप्रमुख राधा रोकाले जानकारी दिएकी छिन् । भवन भत्काएर नयाँ भवन निर्माण हुन थालेपछि नगरपालिकाको सेवा सोही ठाउँका रहेको एउटा विद्यालयबाट प्रवाह भइरहेको छ ।
नयाँ शहरी आयोजना चौरजहारीको १८ करोड लागतमा निर्माण हुने पाँचतले नगर भवनमा ४२ कोठा रहनेछन् । भवन निर्माण चालू आर्थिक वर्षमा हुने भए पनि फिनिसिङको काम भने आगामी आवमा सक्ने योजना रहेको बताइएको छ ।
त्यस्तै नगरका १, २, ३, ४, ९, १०, ११, १३ र १४ नं वडा कार्यालय भवन पनि निर्माण गरिँदै छ । वडा नं १, २ र ४ को भवन अन्तिम चरणमा पुगेको र अन्य वडाका भवन निर्माण पनि यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्यसहित काम भइरहेको छ । एउटा वडा कार्यालय भवन निर्माणका लागि ४२ लाखमा रुपैयाँ विनियोजित गरिएको छ ।
वडाका भवन निर्माणमा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च गरिएको र अपुग बजेट नगरपालिकाले व्यवस्थापन गर्ने बताइएको छ । अहिले नगरका सबै १४ ओटै वडा भाडाका घरमा सञ्चालन भइरहेका छन् । जिल्लामा ६ स्थानीय तहका ७३ वडा रहेकामा अधिकांश वडा भाडाकै घरमा सञ्चालन भएका छन् । साथै अहिलेसम्म जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै भवन निर्माण गरिसकेका छैनन् ।