चैत १, रौतहट । रौतहटमा ६ अर्बभन्दा बढिका १४ ओटा योजनाहरु अलपत्र रहेका छन् । लामो समयसम्म निर्माण कम्पनीले कार्य नसकेका कारण योजनाहरु अलपत्र भएका हुन् । २०६२ देखि २०७४ साल सम्मका सात ओटा पुल, सिँचाइ, भवन, सडक लगायत १४ ओटा आयोजनाहरु अलपत्र छन् ।
वाग्मती तथा लालबकैया नदिमा निर्माणधिन पुल अलपत्र अवस्था छन् । रौतहटको गढीमाई नगरपालिकाको वाग्मती नदीमा ३६ महीनामा पुलको निर्माण कार्य पूरा गर्ने निर्माण कम्पनीले लिखित सम्झौता गरेकोमा ८ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।
२०६९ असार २६ गते ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्ट्रक्सन काठमाण्डौ जेभीले ६०० मिटर लम्बाई भएको दुई लेनको पुल बनाउने सम्झौता गरेको थियो । तर पुल निर्माण कार्य अझै पूरा नहुँदा स्थानियलाई समस्या भएको गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले बताए । पुल निर्माण कार्य नसकिएका कारण कृषि उपजलाई बजारीकणमा समस्या भएको उनको भनाइ छ ।
पप्पु कन्स्ट्रक्सन तथा लुम्बिनी बिल्डर्सले निर्माणको जिम्मा पाएको दुर्गा भगवती गाँउपालिकाको बडहर्वा वाग्मती पुल पनि अलपत्र अवस्थामा छ । २०६६ सालमा नै शिलन्यास गरेर निर्माणको कार्य थालनी गरेको पुल १० वर्ष बितिसक्दा पनि कार्य सम्पन्न हुन नसक्दा स्थानिय चिन्तित छन् ।
गौर नगरपालिका वडा नं. ४ टिकुलियाको लालबकैया नदीको पुल निर्माण कार्य अझै अधुरो नै रहेको छ । २०७१ सालबाट पुल निर्माणको कार्य शुरु गरेको भएपनि ६ वर्ष बितिसक्दा पनि अझै नबनेको हो । पप्पु कन्सन्ट्रकसनले २०७४ अषाढ मसान्तसम्म निर्माण सम्पन्न गर्ने भनिएको सो पुल हालसम्म पनि अधुरो रहेको छ । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो ।
राजदेवी भक्त कन्स्ट्रक्सनले डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरबाट पाएको पुल निर्माणको ठेक्का पनि अलपत्र अवस्थामा छ । गौर बसपार्क नजिकै रहेको बरहवा खोलाको पुलको निर्माण हुन नसक्दा दुई वर्षदेखि डाइभर्सनको प्रयोग भइरहेको छ । यसैगरी जुद्ध उच्च माध्यमिक विद्यालयको छात्रावास, हुलाकी राजमार्गको अधुरा कामहरु तथा सहरी विकास मन्त्रालयको सघन सहरी कार्यक्रम लगायतका आयोजना पनि अलपत्र छन् ।
सडक डिभिजन कार्यालय अन्र्तगतको ६ ओटा पुल र ३ ओटा सडकको निर्माण अधुरो रहेको छ भने सघन सहरी तथा भवन निर्माण आयोजना २ हेल्थपोष्ट र १ अस्पताल निर्माणको काम ठप्प रहेको छ । यसैगरी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले २०७२ जेष्ठ ७ गतेनै सम्झौता गरेको भकुवा सिँचाइ आयोजनाको ५ पटक म्याद थप हुँदा समेत कार्य सम्पन्न हुन नसकेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले आयोजनाहरुको काम सुचारु गराउन निर्देशन दिएको छ ।