रुकुम । रुकुमपूर्वमै पहिलोपटक कापी उद्योग स्थापना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१४ जामाबगर नाखामा स्थानीय टोपजंग बुढामगरले ‘सानोभेरी कापी उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।
साढे ८ लाख रुपैयाँ लगानीमा स्थापित उद्योगबाट अहिले कापी उत्पादन थालिएको सञ्चालक बुढामगरले बताए । घरेलु तथा साना उद्योग कार्यालय रुकुमपूर्वमा दर्ता गरी उद्योग सञ्चालन गरिएको र हाल पहिलो चरणमा १५ हजार प्रति विभिन्न साइजका कापी उत्पादन गरिएको उनले जानकारी दिए । जिल्लामा कापी उद्योग नहुँदा सबै विद्यालयमा बाहिरबाटै ल्याउनुपर्ने बाध्यता केही हदसम्म भए पनि हटाउन आपूmले उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
उद्योगमा उत्पादित कापी सिस्ने गाउँपालिका प्वाङ, सिस्ने, पुथा उत्तरगंगा गाउँपालिकाका चारगाउँ, जाङ, राङसी कोल, गरखानी, तकसेरा, हुकाम मैकोट लगायत ठाउँमा पठाउने तयारी भइरहेको बुढामगरले बताए । समग्र जिल्लाभर कापी पु¥याउनेगरी उद्योगको क्षमता बढाउँदै लैजाने उनको योजना छ । उद्योग सञ्चालनका लागि आवश्यक कच्चापदार्थ वीरगञ्जबाट ल्याउने गरिएको उनले बताए । उद्योगमा मासिक २० हजार तलब दिनेगरी दुईजनालाई रोजगारी दिइएको उनको भनाइ छ । गाउँमै उत्पादन हुन थालेकाले विद्यार्थीका लागि चाहिने कापीहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय सिद्धमण्डली माद्यामिक विद्यालयका प्रधानाध्यापक चिताराम केसीले अपेक्षा गरे ।