ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केराउ, सुपारी, छोकडा र मरीचको कोटा बितरण स्थगित

२०७८ बैशाख, २  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वैशाख २, वीरगञ्ज । सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा बितरण स्थगित गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी बस्तुको कोटा बितरण स्थगित गरिएको बताएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित यस्ता बस्तुको आयात खुलाउने सूचना गत चैत ९ गते राजपत्रमा निकालेको थियो ।

कोटा बितरणमा भेदभाव र आर्थिक चलखेल भएको आरोप लागेपछि कोटा बितरण विवादित बन्दै आएको थियो ।कोटा बितरण स्थगनका बारेमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई सोध्न खोज्दा उनको फोन उठेन । विभागका प्रवक्ता शिवराज सेढाइले यसबारे आफूलाई जानकारी नभएको बताए । 

सीमित कोटामा माग बढी भएकाले दबाब थेग्न नसकेर स्थगित गर्नुपरेको विभाग सम्बद्ध स्रोतले बतायो । स्रोतका अनुसार सम्बद्ध मन्त्रालय र व्यापारीको दुईतर्फी दबाबका कारण विभागले कोटा बितरण स्थगित गरेको हो । 

‘एकतिर उच्च राजनीतिक तहबाट सीमित व्यापारिक फर्मलाई कोटा दिन दबाब आइरहेको छ । अर्कातिर अरू व्यापारीले विभागका महानिर्देशकलाई कोटा माग्दै घेराउ गरेका छन् । यस्तोमा विवादित भएप्छि स्थगित गर्नुपरेको हो,’ स्रोतले बतायो । 

सरकारले गत वर्ष चैत तेस्रो साता यस्ता बस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्ले गत फागुन २५ गते परिमाणात्मक बन्देजसहित आयात खुलाउने निर्णय गरेको थियो ।  

सत्तानिकट केही व्यापारीसँगको सेटिङमा कोटा बितरण गरिएको भन्दै व्यापारीहरू नै संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी गर्न पुगेका थिए ।

समितिले यसबारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यसबारे स्पष्टीकरण सोधेको थियो । आयात खुलाइएकामध्ये सुपारीको कोटा सबैभन्दा बढी विवादित बनेको छ ।  आर्थिक चलखेलमा ५ ओटा व्यापारिक घरानालाईमात्रै कोटा दिइएको आरोप लागेको छ । 

विभागले सुपारीको कोटा बाँडिसकेको छ । केही परिमाणमा केराउको  पनि कोटा बितरण भइसकेको छ । कोटा पाएका व्यापारीले आयातका लागि प्रतीतपत्र (एलसी) खोलिसकेका छन् । 

मन्त्रालयले गत चैत ९ गते आयात खुलाइएको सूचना निकालेको थियो । त्यसको भोलिपल्टै चैत १० गते सुपारीको कोटा वितरण गरिएको थियो । तर विभागले चैत १६ गते ८५ निवेदनबाट २ लाख २७ हजार २७० मेट्रिकटन (मेट) सुपारी आयातको माग भएको भन्दै कागजात पुर्‍याउन सूचना निकालेको थियो । 

आयात खुलाइएको सूचनाको भोलिपल्टै केही व्यापारिक फर्मलाई कोटा दिइनु र सातौं दिन (चैत १६ गते) सूचना निकालेर आवश्यक कागजपत्र मागिनुले मिलेमतोको आशंका बलियो बनेको छ । सेटिङमा पहिल्यै कोटा बितरण गरिसकेर औपचारिकताको लागिमात्रै सूचना निकालिएको आरोप असन्तुष्ट व्यापारीले लगाएका छन् ।
 

सरकारले चालू आर्थिक वर्ष २०७७/ ७८ का लागि २५ हजार मेट सुपारी, ८० हजार मेट केराउ, छोकडा ५ हजार मेट र मरीच १५ हजार मेट कोटा निर्धारण गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)