रुकुम । रुकुम पश्चिमका स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । माटोको अवस्थाबारे जानकारी लिन अब जिल्लाबाहिर जानु नपर्ने भएको हो । खेतीपाती र अरू प्रयोजनका लागि माटो परीक्षण गर्न रुकुम पश्चिमका ६ ओटै स्थानीय तहले डिजिटल उपकरण खरीद गरेका छन् ।
३ लाख ५० हजार रुपैयाँका दरले तीन नगरपालिका र तीन गाउँपालिकाले माटो जाँच्ने मेशिन खरीद गरेका हुन्, जसले माटोका १४ ओटा गुण एकैपटक देखाउने कृषिविज्ञ राजेन्द्र देवकोटाले जानकारी दिए । ‘डिजिटल उपकरणमार्फत अम्लीयपन, क्षारीयपन, ईसी, सूक्ष्म खाद्य तत्त्व, मुख्य खाद्य तŒवलगायतको अवस्थाबारे जानकारी पाइन्छ,’ उनले भने । माटो परीक्षणको नतीजा प्रिन्ट गरी तत्कालै किसानलाई दिने व्यवस्थासमेत गरिएको उनले बताए ।
अहिले स्थानीय तहका कृषि शाखामा कार्यरत कर्मचारीलाई माटो जाँच्ने मेशिन सञ्चालनको तालीम दिइरहेको र तालीमपश्चात् परीक्षणको काम शुरू गरिने बताइएको छ ।
स्थानीयस्तरमै मेशिन पुगेपछि माटो परीक्षणका लागि नेपालगञ्ज र सुर्खेत पुग्नुपर्ने बाध्यता हटेको मुसीकोट नगरपालिका–१३ का किसान ज्ञानबहादुर ओलीले बताए । ‘अब माटो सुहाउँदो कृषिबाली लगाएर राम्रो आम्दानी लिन सकिनेछ,’ उनले भने ।
प्रत्येक स्थानीय तहमा सयओटा ‘रिएजेन्ट’ किटसमेत ल्याइएको छ । सय वटा रिएजेन्टले पुग्नेगरी सबै वडामा माटो परीक्षण र त्यसको नतीजाका आधारमा बालीनाली र फलफूलखेतीको सिफारिश गरिने बताइएको छ । ‘अहिलेसम्म सबै ठाउँमा परम्परागत तरीकाले खेती भइरहेको छ,’ आठबीसकोट नगरपालिका उपप्रमुख गीता नेपालीले भनिन्, ‘अब व्यावसायिक खेतीमा किसानको आकर्षण बढ्नेछ ।’
जिल्लामा माटो परीक्षण गरी माटो सुहाउँदो खेती गर्दा रुकुममा उत्पादन बढ्ने कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताए । जलवायु परिवर्तनका कारण रुकुममा कृषिउपजको उत्पादन घटिरहेका बेला माटो परीक्षणपछि गरिने अनुकूल खेतीले उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् ।