रुकुम । रुकुम पश्चिममा वैशाख १९ गते आइतवारदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
महामारीको रूपमा फैलिएको कोेरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दर तीव्ररूपमा बढेकोले निषेधाज्ञा जारी गर्नुपरेको केन्द्रले बताएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले संक्रमण फैलावट रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निषेधाज्ञा जारी गरिएको बताए । उनले भने, ‘संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ का उपदफा ९३० बमोजिम निषेधाज्ञा लगाइएको हो ।’
निषेधाज्ञा आइतवार बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म लागू हुनेछ । यस अवधिमा अत्यावश्यक सेवा र सो प्रयोजनका सवारीसाधन बाहेक अन्य सबै प्रकारका सेवा र हिँडडुलमा समेत रोक लगाइएको प्रशासनले बताएको छ । प्रमुख जिल्ला अधिकारी गैरेले कोरोना भाइरसको दोस्रो लहरबाट हालसम्म जिल्लामा १०५ जना संक्रमित भएको, दुईजनाको ज्यान गएको र पाँचजनालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाइएको बताए । संक्रमितमध्ये ९ जना अस्पतालमा उपचाररत छन् भने ८९ जना होम आइसोलेशनमा छन् ।