वैशाख ३०, रौतहट । रौतहटको गौर अस्पतालमा आइसीयू र भेन्टीलेटरको सुविधा छ । अस्पतालको माथिल्लो तल्लामा १० बेडको आइसीयू र ४ ओटा भेन्टीलेटर मेशिन छन् । तर दक्ष तथा आवश्यक जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकिएको छैन ।
अक्सीजन बाहेक अन्य कुनै उपचार अस्पतालले नदिँदा संक्रमितको ज्यान जाने गरेको छ । ३ दिनमा मात्र ६ जनाको ज्यान गएको छ । गौर अस्पतालको पश्चिम पट्टि अर्को भवनलाई पनि अस्थायी कोभिड वार्ड बनाइएको छ ।
अस्पतालकै चिकित्सक तथा कर्मचारीहरु ड्यूटी मिलाएर कोभिड वार्डमा खटिएका छन् । गौर अस्पतालका निमित प्रमुख डा. कृष्ण साह ९ जना चिकित्सकको दरबन्दी रहेको पनि अहिले आफू मात्र कार्यरत रहेको बताँउछन् ।
पटक पटक जिल्लामा जनशक्ति पठाउनका लागि सम्बन्धित निकायमा पत्र वा जानकारी दिँदा पनि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मि उपलब्ध हुन नसकेको उनको दुखेसो छ । पीसीआर ल्याबमा स्वाब परीक्षणको लागि जनशक्तिको अभाव रहेको उनले प्रष्ट पारे । पीसीआर ल्याबमा १४ जना कर्मचारी हुनु पर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेको उनको भनाइ छ ।
कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आइसियू र भेन्टीलेटर सेवा दिन नसकेको डा.साहले बताए ।
उनका अनुसार प्रदेश सरकारसंग मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको छ ।
सोही अनुसार सूचना जारी गरेर आवश्यक कर्मचारी माग गरेको उनले बताए । संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयले चासो नदेखाउँदा गौर अस्पतालका उपकरण जनशतिm अभावमा नै प्रयोग बिहिन हुन पुगेको हो ।