जेठ २, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले थप एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक अनुसार जेठ ७ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्यामा पनि कमि नआएकाले निषेधाज्ञाको अवधि थप गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार शनिवार मात्र १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
वैशाख १३ गते देखि हालसम्म कोरोना संक्रमणका कारण ४६ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ । जिल्लामा संक्रमितको संख्या ५७७ पुगेको प्रशासनको तथ्यांकमा उल्लेख छ । संक्रमित र मृतकको संख्याका आधारमा निषेधाज्ञाको अवधि पुनः थप गर्न सकिने प्रजिअ यादवले बताए । यसअघिका निषेधाज्ञामा सबै किसिमको व्यापार व्यवसाय खोल्न दिने निर्णय गरिएको थियो ।
तर यस पटकको निषेधाज्ञामा भने खाद्य सामग्री किराना पसल, फलफुल, तरकारीका पसलहरु हप्ताको दुई दिन खोल्न दिने निर्णय भएको उनले जानकारी दिए । बैंक तथा वित्तिय संस्थाहरु २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी हप्ताको दुई दिन आइतवार र बुधवार मात्र खुला रहने छ ।
स्वास्थ्य मापदण्ड पालना गरी विकास निर्माण कार्य सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय रोतहटले जानकारी दिएको छ ।