रुकुम । रुकुममा क्रियाशील युनाइटेड मिसन टु नेपालले रुकुम पूर्व कलस्टर (यूएमएन र नेपाल जनजागरण मञ्च रुकुमको साझेदारीमा सञ्चालित सामुदायिक रुपान्तरण परियोजनाले भूमे र पुथाउत्तरगंगा गाउँपालिकालाई ६ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री २ लाख ९२ हजार र बर्थिङ सेन्टर व्यवस्थापनका लागि २ लाख ९० हजार गरी ५ लाख ८२ हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री दुई गाउँपालिकालाई हस्तान्तरण गरिएको सामुदायिक रुपान्तरण परियोजना कार्यक्रमका अधिकृत फत्या रिजालले जानकारी दिए ।
कोरोना रोकथामका लागि एन्टिजेन किट दुई सय, सर्जिकल मस्क दुई हजार दुई सय पिस, स्यानिटाइजर पाँच सय एमएलका ५०, एक सय एमएलका ४५, सोडियम हाइड्रो कोलोराइड पाँच लिटरका आठ, पीपीई सेट ३५, डिस्पोजल पञ्जा ६ बक्स, एननाइन्टी फाइफ मास्क ४०, बेस्ट क्वालिटी सर्जिकल मास्क ३५, हात धुने १२ वटा ड्रमलगायत सामग्री हस्तान्तरण गरिएको हो ।
कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिएर सुरक्षा दिँदै आएको इलाका प्रहरी कार्यालय काँक्री र तकसेरालाई पनि संस्थाले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य सामाग्रीसँगै भूमेका ९ र पुथाउत्तरगंगाका ३ गरी १२ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गरिएको छ ।