रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग सञ्चालन हुने भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका र बागचौर नगरपालिकाको अदुवा प्रशोधन गरी विक्री गर्ने उद्देश्यले उद्योग सञ्चालनको तयारी थालिएको हो । गाउँपालिकाको वडा नं ६ दहवाङमा उद्योगका भौतिक संरचनाको काम भइरहेको छ ।
कर्णाली प्रदेश सरकारको बजेटबाट त्रिवेणी श्रम सहकारीमार्फत उद्योग निर्माण थालिएको सहकारीका अध्यक्ष शेरबहादुर मल्लले जानकारी दिए । उनका अनुसार उद्योगको डीपीआर गर्दा ३ करोड ९६ लाख बजेट लाग्ने अनुमान गरिएकोमा हालसम्म प्रदेश सरकार र सहकारीको गरी १ करोड ८० लाख खर्च भइसकेको छ ।
उद्योगमा राखिने मेशिनका केही पाटपुर्जा आइसकेको र मुख्य मेशिन आउन बाँकी रहेको मल्लले बताए । उद्योगको मुख्य मेशिन भारतबाट ल्याइने भएकाले कोरोना र निषेधाज्ञाका कारण कारण ल्याउन नसकिएको उनको भनाइ छ । भौतिक संरचना निर्माणको काम सकिएपछि उद्योगसम्म पुग्ने थ्री फेज विद्युत्, ट्रान्सफरमर जडान लगायत काम गरिने उनले बताए ।
दहवाङमा उद्योग निर्माणपछि अदुवा, बेसार, अलैंची, टिमुर समेत प्रशोधन गरिनेछ । बजारको माग अनुसारको मसला प्रशोधन गरिने अध्यक्ष मल्लले बताए । जिल्लाका त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र सल्यानका बागचौर नगरपालिका र दार्मा गाउँपालिकाका विभिन्न ठाउँ उदुवा उत्पादनका लागि प्रसिद्ध छन् ।