ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अक्सिजन प्लान्ट खरीद अनियमितताको आशंकापछि छानविन शुरू

२०७८ जेठ, १९  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । जिल्ला अस्पताल रुकुम पश्चिम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरीद गर्दा अनियमितता भएको गुनासोपछि छानविन शुरू गरिएको छ । अक्सिजन प्लान्ट खरीद प्रक्रियामा अनियमितता भएको गुनासो बढ्न थालेपछि अख्तियारले खरीदको फाइल मागेको छ । यससँगै प्लान्ट जडान प्रक्रिया समेत रोकिएको छ ।

वास्तविक मूल्यभन्दा बढीमा अक्सिजन प्लान्टको मेशिन खरीद गरिएको भन्ने आशंकामा छानविन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत बताएको छ । प्लान्ट जडानको काम अघि नबढाउन अख्तियारले निर्देशन दिएको छ । अक्सिजन प्लान्ट सञ्चालनका लागि मुख्य मेशिन अस्पतालमा आइपुगेको थियो भने थप सामग्री खरीद गरी जडानको तयारी गरिएको थियो ।

खरीद प्रक्रियामा अनियमितताको आशंकापछि प्लान्ट जडानको काम अघि नबढाउन कर्णाली प्रदेशको संसदीय समितिले पनि निर्देशन दिएको छ । अनुगमनका क्रममा जिल्ला अस्पताल पुगेको संसदीय समितिले खरीदको विषय छानविनमा परेकाले बाँकी काम तत्काल अघि नबढाउन निर्देशन दिएको हो ।

केही महीनाअघि विभूति मेडिटेक इन्टरनेशनल प्रालिले अक्सिजन प्लाण्टको मुख्य मेशिन खरीद गरेको थियो । कम्पनीले प्लाण्ट सञ्चालनका लागि आवश्यक पर्ने पाइपलाइन तथा अन्य सामग्री भने ल्याउन बाँकी थियो ।

कर्णाली प्रदेश सरकारले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लाग गतवर्ष ५८ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये ३९ लाख २२ हजारमा मुख्य मेशिन ल्याइएको बताइएको छ । बाँकी १८ लाखले पाइपलाइन र अक्सिजन स्टोरका लागि ५०० लिटर क्षमताको ट्यांकी खरीद प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य सेवा कार्यालयले नै ठेक्का आह्वान गरेर मेशिन खरीद गरेको हो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले प्लान्ट खरीद लगायत प्रक्रियाको फाइल अख्तियारले लिएको र संसदीय समितिले पनि बाँकी काम नगर्न भनेकाले काम रोकिएको बताए । विभूति मेडिटेक इन्टरनेशनल प्रालिले जेठ १६ गतेसम्म अक्सिजन प्लान्ट जडान गरिसक्ने बताएको थियो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)