रुकुम । रुकुमका किसानले मापदण्ड विपरीतका (पालन तथा उत्पादन अयोग्य) बाख्रा फिर्ता गरेका छन् । बाख्रापालन किसानलाई वितरणका लागि ल्याइएका बाख्रा गुणस्तरीय नभएपछि किसानले लिन अस्वीकार गरेका हुन् ।
आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ ओटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले बताएको छ । बाख्रा खरीदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालन तथा उत्पादनयोग्य नभएको र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशील गौतमले जानकारी दिएका छन् ।
उनले भने, ‘ठेकेदारले पहिलो चरणमा ल्याएका ५६ ओटा बाख्रामध्ये २६ ओटा फिर्ता पठाइएको हो ।’ नगरपालिकाले यहाँका विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारिताका बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्देश्य विपरीत हुने हरेक खालका कार्यलाई अनुगमन गरेर निरुत्साहन गरिने उनको भनाइ छ ।
संघीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई बाख्रापालनमा व्यावसायिक बनाएर आर्थिक उपार्जनमा जोड्ने उद्देश्यले बाख्रा वितरण कार्यक्रम राखिएको थियो । यस वर्ष १५० ओटा बाख्रा वितरण गर्ने कार्यक्रम छ । बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकरी दिएकी छिन् ।
पहिलो चरणमा ल्याइएकामध्ये २६ ओटा बाख्रा कुनै साना, कुनै बुढो भएका र प्रजननयोग्य नदेखिएकाले किसानसँग सहकार्य गरेर अरू नै ल्याउनेगरी ठेकेदारलाई नै फिर्ता गरिएको छ । बाख्रा खरीद र वितरणका लागि केयर फार्म नेपाल प्रालि नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि संघीय सरकार र मुसिकोट नगरपालिकाको संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरीद, घाँस, औषधि समेतको व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो ।