ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरीब तथा विपन्न विद्यार्थीलाई प्राविधिक पढ्न शैक्षिक ऋण

२०७८ असार, १०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । प्राविधिक पढ्न विद्यार्थीलाई विनाब्याज शैक्षिक ऋण प्रदान गरिने भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिकाले पालिकाभित्र प्राविधिकतर्फको जनशक्ति उत्पादनका लागि प्रोत्साहन स्वरूप विनाब्याजमा शैक्षिक ऋण उपलब्ध गराउने भएको हो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनका लागि विद्यार्थीलाई विनाब्याजमा शैक्षिक ऋण उपलब्ध गराउन बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिएका छन् । उनले भने, ‘यस आर्थिक वर्षमा दुई विद्यार्थीलाई विनाब्याज शैक्षिक ऋण स्वीकृत गरिसकेको छ ।’ घरपरिवारको आर्थिक अवस्था कमजोर भएका पालिकाभित्रका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न विनाब्याज शैक्षिक ऋण उपलब्ध गराउन शुरू भएको उनको भनाइ छ ।

गाउँपालिकामा प्राविधिक जनशक्ति उत्पादन गर्न स्वास्थ्य, इञ्जिनियरिङ, कृषि, पशुलगायत प्राविधिकतर्फ अध्ययनका लागि आर्थिक अवस्था कमजोर रहेका घरपरिवारका विद्यार्थीलाई अधिकत ५ लाख रुपैयाँसम्म विनाब्याजमा शैक्षिक ऋण दिइने प्रावधान रहेको अध्यक्ष बुढाले जानकारी दिए ।

तीनवर्षे कृषितर्फको आईएस्सीएजी अध्ययनरत दुई विद्यार्थीलाई ३÷३ लाख रुपैयाँको दरमा शैक्षिक ऋण दिन गाउँ कार्यपालिकाबाट स्वीकृत गरिएको छ । चालू आर्थिक वर्षमा दुईजनाको शैक्षिक ऋणका लागि गाउँपालिकामा निवेदन आएकोमा स्वीकृत गरिएको गाउँ कार्यपालिकाले बताएको छ ।

शैक्षिक ऋणका लागि विद्यार्थीको शैक्षिक प्रमाणपत्र, वडाको सिफारिशसहित आफ्नो वडाको वडा सदस्यको जिम्मेवारीमा पालिकामा शैक्षिक ऋणको निवेदन आए न्यून आय भएका परिवारका विद्यार्थीलाई शैक्षिक ऋण दिइने गाउँपालिकाको नीति छ । विद्यार्थीले लिएको ऋण हरेक वर्षमा २५ प्रतिशतका दरमा ४ वर्षमा पालिकालाई बुझाउनुपर्नेछ । ‘गाउँपालिकामा प्राविधिकतर्फको जनशक्ति न्यून रहेकाले यस्तो जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यका साथ विनाब्याजमा शैक्षिक ऋण दिने प्रावधान राखेका हौं,’ अध्यक्ष बुढाले भने, ‘यो नीति चालू आर्थिक वर्षमा मात्र लिइएकाले सबै अभिभावक तथा विद्यार्थीमाझ नपुगेकाले निवेदन कम आएको हुन सक्छ ।’ यो नीतिलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिँदै जाने गाउँपालिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)