रुकुम । रुकुमपश्चिमको साँखखोलामा निर्माणाधीन मोटेरेबल पुल भत्किएको छ । राप्ती राजमार्ग अन्तर्गत मुसीकोट नगरपालिका–४ सोलावाङ र वडा नं १२ बैरागी ठाँटीबजार जोड्ने पुल केही दिनअघि आएको बाढीले भत्किएको हो ।
३५ मिटर लम्बाइको पुलमा निर्माणको अन्तिम चरणको काम भइरहेको थियो । सेटिङका सबै काम सकिएर आरसीसी ढलान भइरहेको अवस्थामा पुल भत्किएको हो । पुलको बिम र स्ल्याब कामै नलाग्नेगरी भत्किएको छ ।
बिम र स्ल्याबको काम अब फेरि शुरूबाटै गर्नुपर्ने भएको पुल निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर हीरा लामाले बताए । यो पुल निर्माणको काम सूर्य इलाइट जेभीले गरिरहेको छ । पुल भत्किँदा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । ‘पुलमा गाडी गुड्ने बनाउन करीब १०–१५ प्रतिशत काम मात्र बाँकी थियो,’ लामाले भने । असार मसान्तसम्ममा सक्नेगरी काम भइरहेको थियो । यो थप गरिएको समय हो । पहिलोपटकको सम्झौता अनुसार पुल गतवर्ष साउनमै सम्पन्न भइसक्नुपथ्र्यो ।
कोरोनाको कारण देखाउँदै असारसम्मको म्याद थपिएकोमा अब उक्त समयमा पनि नसकिने अवस्था आएको छ । विश्व बैंकको साढे ९ करोड सहयोगमा साँखखोला र सल्यानको पटारेमा पुल निर्माणको ठेक्का लागेको थियो । सल्यानको पटारेमा गतवर्ष नै निर्माण सम्पन्न भइसकेको छ । साँखखोलाको निर्माणाधीन पुल बग्दा स्थानीयले जीर्ण बेलीब्रिजबाट जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता पनि लम्बिएको छ ।