ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा १ वर्षमा २ हजार उद्योग थपिए

नयाँ उद्योगमा साढे ४ अर्ब लगानी

२०७८ सावन, १४  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङमा १ वर्षको अवधिमा २ हजारभन्दा बढी नयाँ घरेलु तथा सना उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका विभिन्न प्रकृतिका २ हजार १८४ ओटा घरेलु तथा सना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जानकारी दिएको छ ।

गएको आर्थिक वर्षमा थपिएका २ हजार १८४ नयाँ उद्योगसँगै रू. ४ अर्ब ४८ करोड २३ लाख २१ हजार लगानी थपिएको छ । नयाँ थपिएका उद्योगमध्ये २ हजार ५७ प्राइभेट फर्म, ९५ ओटा साझेदारी फर्म र ३२ ओटा प्रालिमा रहेको घरेलु कार्यालयले बताएको छ । पछिल्लो समय जिल्लामा महिला उद्यमीको संख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले बताए । ‘महिला उद्येमीलाई प्रोत्साहनका लागि सरकारले पनि केही प्याकेजका कार्यक्रम ल्याएको छ,’ उनले भने, ‘त्यसले पनि महिलालाई उद्यमशीलतामा अग्रसर गराएको छ ।’

त्यस्तै प्रदेश सरकारले स्वदेशमै केही गर्न चाहनेका लागि भन्दै उद्योगहरू निःशुल्क रूपमा दर्ता गर्ने व्यवस्था मिलाएपछि पनि जिल्लामा घरेलु तथा साना उद्योगको दर्ता बढेको हो । उद्योग तथा फर्महरू निःशुल्क दर्ता हुने भएपछि केही युवा व्यवसायीको पनि घरेलु तथा साना उद्योगमा आकर्षित भएको निमित्त प्रमुख वलीले बताए । कार्यालयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषिजन्य प्रकृतिका छन् । १ वर्षको अवधिमा १ हजार ५१२ ओटा कृषिमूलक उद्योग दर्ता भएका छन् ।

त्यसैगरी उत्पादनमूलक २०७, पर्यटन उद्योग १६८ र सेवामूलक उद्योग २९७ ओटा दर्ता भएका छन् । नयाँ थपिएका २ हजार १८४ उद्योगमा २ हजार ४५४ जना उद्यमी थपिएका छन्, जसमा १ हजार २६२ पुरुष छन् भने १ हजार १९२ महिला उद्येमी छन् । ती उद्योगमा ८ हजार १७७ जनाले रोजगारी प्राप्त गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगसम्बन्धी रू. ५ करोडसम्मका र वाणिज्यतर्फ रू. २ करोडसम्म लगानी भएका उद्योग तथा व्यवसाय दर्ता हुने गर्दछन् ।

अनलाइनबाट उद्योग दर्ता शुरू
घरेलु तथा साना उद्योग कार्यालयले अनलाइनमार्फत उद्योग तथा वाणिज्य सम्बन्धी व्यवसाय दर्ता गर्न शुरू गरेको छ । चालू आर्थिक वर्ष २०७८/७९ बाट यस्तो सेवा शुरू गरेको कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले जानकारी दिए ।

सरकारले गरेको व्यवस्था अनुसार नै कार्यालयले अनलाइनबाटै दर्ता शुरू गरेको उनको भनाइ छ । अनलाइनमार्फत सबै कागजपत्र पुर्‍याएमा १५ दिनभित्र उद्योगसम्बन्धी दर्ता गरेर प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै वाणिज्यसम्बन्धी ७ दिनभित्र दर्ता गरेर प्रमाणपत्र प्रदान गरिनेछ । अनलाइनमार्फत सेवा शुरू गरिएपछि सेवाग्राहीलाई सेवामा सहजता हुने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)