रौतहट । रौतहटमा पछिलो समय उद्योग दर्ता गरी उद्यमी बन्ने युवाहरूको संख्या बढिरहेको छ ।
कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका वा जान नपाएका युवाहरू आत्मनिर्भर हुन घरेलु तथा साना उद्योग दर्ता गरी व्यापार व्यवसायमा लागेका हुन् ।
अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता गरी व्यापार व्यवसाय गर्नेको संख्या तेब्बरले वृद्धि भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गौरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार ०७६/७७ मा ६ सय ८२ वटा उद्योग दर्ता भएकामा आव ०७७/७८ सम्म १ हजार ७ सय २८ वटा उद्योग दर्ता भएका हुन् ।
२०७६/७७ तथा ०७७/७८ मा गरी १२ हजार ५ सय १२ जनाले रोजगारी पाएका छन् । प्रतिवेदनअनुसार अघिल्लो बर्षमा ३ हजार ५ सय ५६ र गत वर्षमा ८ हजार ९ सय ५६ जनाले उद्योगमा रोजगारी पाएका हुन् ।
कार्यालयको तथ्यांकमा करिब ७५ प्रतिशत कृषितर्फका उद्योग दर्ता भएका छन् भने अरू उद्योग उत्पादनमूलक, पर्यटन र अन्य सेवातर्फका रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय गौरका अनुसार ०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा ८० लाख रुपैयाँभन्दा बढी राजस्वमा वृद्धि भएको छ ।
गत वर्ष २ करोड ४८ लाख ५६ हजार ५ सय राजस्व संकलन भएकामा अघिल्लो वर्ष १ करोड ६८ लाख ३० हजार ५५० रुपैयाँ भएको थियो । उद्योग, फर्म दर्ता, नवीकरणलगायतबाट उतm राजस्व संकलन भएको कार्यालयका प्रमुख जयकान्त झाले बताए । उनका अनुसार गत आर्थिक वर्षमा २ करोडभन्दा बढी राजस्व संकलन भएकोे छ ।
युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले गत आर्थिक वर्षमा कार्यालयले सिलाइ–कटाइ, प्लम्बिङ, मोबाइल मर्मत, हाउस वायरिङ, डल कुसन, मुढा बनाउने, कम्प्युटर, तरकारी, च्याउ खेतीलगायत तालिम सञ्चालन गरेको थियो । विभिन्न संघ–संस्थाले आत्मनिर्भरका लागि तालिम दिने र बंैक तथा वित्तीय संस्थाले कर्जा दिने भएपछि पछिल्लो समय उद्योग दर्ता गर्नेकोे संख्या बढेको उद्यमीहरू बताँउछन् ।