साउन २४, रौतहट । पछिल्लो समय कोरोना महामारीका कारण वैदेशिक यात्रा गर्न सहज नहुँदा विदेश जानेको संख्यामा कमी आएको छ । वैदेशिक यात्रामा जानेको संख्यामा कमी आएपनि राहदानी बनाउनेको संख्या भने उतिकै रहेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २ हजार ९४७ जनाले राहदानी लिएका थिए । अघिल्लो वर्षको तुलनामा ५५ जनाले बढि राहदानी लिएका हुन् । २०७६/७७ मा भने २ हजार ८९२ जनाले राहदानी लिएको प्रशासनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट भने १ हजार २०२ जनाले साधारण सिफारीसबाट राहदानी बनाएका छन् । द्रुत सिफारीसबाट १ हजार ९९१ गरी कुल संख्या ३ हजार १९३ ले राहदानी बनाएको तथ्यांकमा उल्लेख छ ।
ईलाका प्रशासन कार्यालय गरुडामा ९५५ जना जिल्लामा र ६५० जनाले काठमाडौंबाट बनाएको जिल्ला प्रशासन कार्यालय गौरको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार नयाँ नागरिकता लिनेको संख्या पनि बढी छ ।
२०७७/७८ मा १० हजार ४९७ ले नयाँ नागरिकता लिए भने २०७६/७७ मा भने ८ हजार ८७४ जनाले नागरिकता लिएका थिए । गत आर्थिक बर्षमा १ हजार ६२३ ले बढी नागरिकता लिएका छन् । त्यसैगरी नागरिकता हराएका वा अन्य कारणले नागरिता गुमाउने ५ हजार ४३६ जनाले पुनः नगरिकताको प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकता अनिवार्य भएकाले लिनेको संख्यामा वृद्धि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा आवश्यक अनुसारको सेवा प्रवाह स्थगित गर्नुका साथै अन्य समयमा भने स्वास्थ्य मापदण्ड अनुसार कार्यालयले सम्पूर्ण सेवा प्रवाह गरेको उनले बताए ।